साहसलाई साथ: सन्देशको शिक्षामा शिवम् सिमेन्टको हात

काठमाडाैं । सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक रूपमा कमजोर तथा विशेष क्षमता भएका विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यसहित रोल्पाका १२ वर्षीय सन्देश बुढा मगरको अध्ययनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।

‘रूटीन अफ नेपाल बन्द’ मा प्रकाशित पत्रकार सुरेश तिमल्सीनाद्वारा लेखिएको समाचारबाट प्रेरित हुँदै कम्पनीले जन्मजात दुबै हात नचल्ने अवस्थाबाट प्रभावित सन्देशलाई सहयोग गर्न अग्रसरता देखाएको हो।

रोल्पा नगरपालिका–१० धाङ्सी निवासी सन्देशले शारीरिक कठिनाइका बाबजुद खुट्टाको सहारामा लेख्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै आएका छन्। उनले हालै कक्षा ५ उत्तीर्ण गरेका छन्। तर, जिल्लामै अपाङ्गमैत्री विद्यालयको अभाव र कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण उनको थप अध्ययन अन्योलमा परेको थियो।

यस अवस्थालाई मध्यनजर गर्दै शिवम् सिमेन्ट्सले सन्देशको माध्यमिक तहसम्मको अध्ययन सुनिश्चित गर्न काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको छ। साथै, उनको आवास, हेरचाह तथा दैनिक व्यवस्थापनका लागि अपाङ्ग नवजीवन केन्द्रसँग सहकार्य गरिएको छ।

व्यवस्थाअनुसार सन्देशको आवासीय सुविधा र रेखदेख अपाङ्ग नवजीवन केन्द्रले गर्नेछ भने अध्ययनको व्यवस्था खगेन्द्र नवजीवन विद्यालयमा हुनेछ। उनको माध्यमिक तहसम्मको सम्पूर्ण शैक्षिक खर्च शिवम् सिमेन्ट्सले अर्धवार्षिक रूपमा केन्द्रमार्फत उपलब्ध गराउने जनाएको छ।

कम्पनीले “समाजका हरेक वर्गको समुचित विकासमा साथ दिने हाम्रो उद्देश्यअनुरूप विशेष आवश्यकता भएका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन पाउँदा गर्व लागेको छ। शिक्षा नै उज्ज्वल भविष्यको आधार भएकाले यस्ता बालबालिकाले पनि समान अवसर पाउनुपर्छ,” भन्ने धारणा व्यक्त गरेको छ।

सन्देश बुढा मगरको अदम्य साहस र आत्मविश्वासबाट प्रेरित भई गरिएको यस सहयोगले उनको शैक्षिक यात्रा सहज र सफल बन्ने अपेक्षा गरिएको छ। शिवम् सिमेन्ट्स लिमिटेडले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।