काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आगामी वैशाख १९ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरीको १३औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।
सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार ज्येष्ठता, कार्यकुशलता, नेतृत्व क्षमता, आर्थिक अनुशासन तथा व्यवस्थापकीय दक्षता लगायतका आधारमा पौडेल आईजीपीमा नियुक्त भएका हुन्।
हालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको चार वर्षे कार्यकाल वैशाख १८ गते राति १२ बजे समाप्त हुनेछ। त्यसपछि वैशाख १९ गतेदेखि ३७ हजार फौजको नेतृत्व पौडेलले सम्हाल्नेछन्।
रोचक पक्ष के छ भने, पौडेल, अर्याल र नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की एउटै ब्याच (२०५४ सालमा सेवा प्रवेश) का हुन्। नेपाल प्रहरीको १११औँ टोलीका उनीहरू तीनै जना अहिले आ–आफ्नो संगठनको सर्वोच्च पदमा पुगेका छन्, जुन सुरक्षा निकायको इतिहासमै दुर्लभ मानिएको छ।
पौडेल र अर्याल २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए। अर्याल अनिवार्य अवकाशमा जाँदा पौडेलले अब करिब दुई वर्ष संगठनको नेतृत्व गर्नेछन्।
सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोला निवासी पौडेल २०३० मंसिर ९ गते जन्मिएका हुन्। हाल उनी काठमाडौँको टोखामा बसोबास गर्छन्। उनले जनप्रशासन विषयमा स्नातकोत्तर (एमपीए) गरेका छन्।
सेवा करियरको सुरुवात नेपाल प्रहरीबाट गरेका पौडेलले रोल्पामा स्ट्राइकिङ टोली कमान्डरदेखि झापाको बिर्तामोड इलाका प्रहरी कार्यालय प्रमुखसम्म जिम्मेवारी सम्हालेका थिए। पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएपछि उनले विभिन्न महत्वपूर्ण पदमा रहेर नेतृत्व प्रदर्शन गरेका छन्।
डीएसपीदेखि एआईजीसम्म पुग्दा उनले सीमा सुरक्षा, तालिम, प्रशासन, मानवश्रोत तथा रणनीतिक विभागमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। लुम्बिनी र गण्डकी प्रदेशमा बाहिनीपति भएर समेत उनले सफल नेतृत्व प्रदान गरेका थिए।
पौडेलले सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री (चौथो), गोरखा दक्षिण बाहु (चौथो), प्रदेश सेवा पदक तथा संयुक्त राष्ट्रसंघ पदक सहितका सम्मान प्राप्त गरेका छन्।
सरकारको निर्णयसँगै अब सशस्त्र प्रहरी बलको नेतृत्व नयाँ दिशातर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।
