काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तुमा लाग्दै आएको कर दर घटाउनुपर्ने सुझाव दिएका छन्। उनले हाल यस्ता वस्तु र सेवामा लगाइँदै आएको कर अत्यधिक रहेको बताउँदै त्यसलाई घटाए राजस्व वृद्धि हुनुका साथै अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन सहयोग पुग्ने बताएका हुन्।
‘अर्थको अर्थ’ द्वारा आयोजित आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मल्होत्राले सरकारको आर्थिक योजना महत्वाकांक्षी भए पनि सम्भव रहेको उल्लेख गरे। सरकारले आगामी ७ वर्षमा अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्याउने र प्रतिव्यक्ति आय ३ हजार डलर बनाउने लक्ष्य लिएकोप्रति निजी क्षेत्र सहयोग गर्न तयार रहेको उनले बताए।
मल्होत्राले सरकार र निजी क्षेत्रबीच सहकार्य भए लक्ष्य हासिल गर्न सकिने भन्दै अर्थतन्त्र विस्तारका लागि साझेदारी आवश्यक रहेको जोड दिए। उनका अनुसार बजेटको आकार प्रत्येक वर्ष बढ्दै गए पनि राजस्व संकलन अपेक्षाअनुसार नहुँदा लक्ष्य पूरा हुन नसकेको अवस्था छ।
उनले बजेट बारम्बार समीक्षा गरी संशोधन गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै यथार्थपरक बजेट निर्माण गर्न सरकारलाई आग्रह गरे। साथै, आगामी बजेट निजी क्षेत्रसँग समन्वय गरेर तयार गर्नुपर्नेमा उनले जोड दिए।
मल्होत्राका अनुसार कर संरचना सुधार र लगानीमैत्री वातावरण निर्माण भएमा अर्थतन्त्रको औपचारिक दायरा विस्तार भई दीर्घकालीन रूपमा राजस्व वृद्धि सम्भव छ।
