शिवप्रसाद घिमिरे प्यानलको मुख्य ध्येय : “सुरक्षित निजी क्षेत्र : सशक्त महासंघ”

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन २०८२ नजिकिँदै जाँदा वस्तुगत क्षेत्रतर्फको चुनावी माहोल थप तातेको छ। निजी क्षेत्रको साझा नेतृत्व, व्यावसायिक अधिकारको संरक्षण र महासंघलाई अझ मजबुत बनाउने उद्देश्यसहित वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरे आफ्नो अनुभवी र समन्वयकारी टिमसहित चुनावी मैदानमा उत्रिएका छन्।

“सुरक्षित निजी क्षेत्र : सशक्त महासंघ” भन्ने स्पष्ट नारासहित अगाडि बढिरहेको यो प्यानलले निजी क्षेत्रका आवाजलाई व्यवस्थित र प्रभावकारी रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। व्यवसायिक जगतमा लामो अनुभव, संस्थागत नेतृत्व क्षमता र निजी क्षेत्रका समस्या तथा समाधानबारे गहिरो बुझाइका कारण शिवप्रसाद घिमिरेलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ।

व्यवसायिक यात्रामा लामो समयदेखि सक्रिय घिमिरेले उद्योग, व्यापार र वस्तुगत क्षेत्रका विविध आयामलाई नजिकबाट बुझेका छन्। निजी क्षेत्रका समस्या केवल उठाउने होइन, समाधानको बाटो पहिचान गर्दै संस्थागत नेतृत्वलाई परिणाममुखी बनाउने क्षमताका कारण उनको उम्मेदवारीलाई विशेष अर्थका साथ हेरिएको छ।

घिमिरे नेतृत्वको प्यानलमा रहेका कार्यकारिणी सदस्य पदका उम्मेदवारहरू पनि आ–आफ्नो क्षेत्रमा अनुभवी, सरल, व्यवसायमैत्री र संस्थागत नेतृत्वको अभ्यास गरेका व्यक्तित्वहरू रहेका छन्। प्यानलमा अरनिको राजभण्डारी, एब बहादुर थापा मगर, धन प्रसाद लामिछाने, धर्मराज सापकोटा, धुर्ब बहादुर गौतम , नानिराज घिमिरे ,रबिन पुरी, राज कुमार कार्की , राजेश भक्त श्रेष्ठ, संघर्स बिस्ट, बसन्त चन्द्र मरहठ्ठा, रघुनन्दन मारु,सुनिता नेम्हाफुकी , होमप्रसाद घिमिरे, कृष्ण प्रसाद अवास र बिस्वनाथ खनाल लगायतका उम्मेदवारहरूको सहभागिता रहेको छ।

यस टिमलाई महासंघको भावी अध्यक्ष अञ्जन श्रेष्ठ को समर्थन रहेको छ। निजी क्षेत्रको एकता, संस्थागत सुदृढीकरण र व्यवसायीको हकहितको संरक्षणका लागि अनुभवी नेतृत्व आवश्यक रहेको सन्देश सहित यस टिम अघि सरेको छ।

व्यवसायिक क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको अवस्थामा नीतिगत सुधार, लगानीमैत्री वातावरण, कर प्रणालीमा सहजीकरण, उद्योगमैत्री नीति र व्यवसायीको आत्मविश्वास बढाउने वातावरण निर्माण गर्न महासंघको भूमिका अझ प्रभावकारी हुनुपर्ने माग बढिरहेको छ। यस्तो अवस्थामा अनुभव, समन्वय र स्पष्ट दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको व्यवसायीहरूको धारणा छ।

घिमिरे प्यानलले महासंघलाई केवल औपचारिक संस्था होइन, निजी क्षेत्रको सशक्त आवाज बनाउने प्रतिबद्धता जनाएको छ। व्यवसायीको समस्या सरकारसमक्ष प्रभावकारी ढंगले राख्ने, नीति निर्माणमा निजी क्षेत्रको भूमिका सुनिश्चित गर्ने र साना, मझौला तथा ठूला उद्योगी–व्यवसायीलाई समान अवसर दिलाउने एजेण्डा यस प्यानलले प्राथमिकतामा राखेको छ।

महासंघको आगामी नेतृत्व चयन केवल व्यक्तिको जित–हार नभई निजी क्षेत्रको भावी दिशा निर्धारणको विषय भएकाले यसपटकको निर्वाचनलाई निकै महत्त्वका साथ हेरिएको छ। यही सन्दर्भमा अनुभवी नेतृत्व, बलियो टिम र स्पष्ट कार्यदिशासहित शिवप्रसाद घिमिरे प्यानललाई व्यवसायिक वृत्तमा बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ।