इन्धन मूल्य समायोजनमा निगम, आपूर्ति व्यवस्थापनमा जोड

  • Clock icon
    २०८३ बैशाख १८, शुक्रबार

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्याससहित विभिन्न पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमका अनुसार ग्यासको मूल्यमा उल्लेख्य वृद्धि गरिएको छ भने केही इन्धनको मूल्य घटाइएको छ।

निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै खाना पकाउने एलपीजी ग्यासको मूल्य प्रति सिलिण्डर १५० रुपैयाँले बढाएको जनाएको छ। यससँगै अब एक सिलिण्डर ग्यासको नयाँ मूल्य २१६० रुपैयाँ कायम भएको छ। यसअघि उक्त ग्यास २०१० रुपैयाँमा उपलब्ध थियो। त्यसभन्दा अघि लामो समयसम्म १९१० रुपैयाँमा स्थिर रहेको ग्यासको मूल्य केही समयअघि १०० रुपैयाँले बढाइएको थियो।

त्यस्तै, आधा सिलिण्डर (७.१ किलो) ग्यासको मूल्य पनि बढाइएको छ। अब यसको मूल्य १०८० रुपैयाँ पुगेको छ, जुन यसअघि १००५ रुपैयाँ रहेको थियो। नयाँ मूल्य बिहीबार (१७ वैशाख) को मध्यरातदेखि लागू गरिएको निगमले जनाएको छ।

हवाई इन्धनतर्फ पनि मूल्य वृद्धि गरिएको छ। काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिक्री हुने हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १७८५ अमेरिकी डलरबाट बढाएर १८३१ अमेरिकी डलर पुर्‍याइएको छ।

यद्यपि, पेट्रोल र डिजेलको मूल्यमा भने केही राहत दिइएको छ। पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएर २१७ रुपैयाँ कायम गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १२ रुपैयाँले घटाएर २२५ रुपैयाँ तोकिएको छ। पछिल्लो समय डिजेलको मूल्य पेट्रोलभन्दा महँगो हुने प्रवृत्ति देखिएको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ। विशेषगरी अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको सैन्य कारबाही तथा त्यसपछिको तनावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित बनेको छ। इरानले फारसको खाडीअन्तर्गत पर्ने स्ट्रेट अफ हर्मुज क्षेत्रमा अवरोध सिर्जना गरेपछि विश्वव्यापी आपूर्ति शृङ्खलामा असर परेको बताइएको छ।

निगमका अनुसार हालको मूल्य समायोजनपछि पनि प्रत्येक १५ दिनमा करिब १ अर्ब ८१ करोड रुपैयाँ घाटा व्यहोर्नु परिरहेको छ। घाटा न्यूनीकरण र आपूर्ति सन्तुलन कायम राख्न मूल्य समायोजन अपरिहार्य भएको निगमको भनाइ छ।

यद्यपि, ग्यासको मूल्यवृद्धिले नेपाली उपभोक्तामा थप आर्थिक दबाब सिर्जना गर्ने देखिएको छ। विशेषगरी न्यून तथा मध्यम आय भएका परिवारका लागि भान्सा खर्च व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने अवस्था देखिएको छ।

  • Clock icon
    २०८३ बैशाख १८, शुक्रबार