ट्राफिक कडाइले अनुशासन सुधार, हजारौँ चालक कारबाहीमा

  • Clock icon
    २०८३ बैशाख १८, शुक्रबार

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम कार्यान्वयनलाई कडाइ गरिँदा पछिल्लो २४ घण्टामा २ हजार ९३ सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा कारबाहीबाट राज्यकोषमा १९ लाख ९९ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६५ जना चालकलाई कारबाही गरिएको छ। त्यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २२५ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १३७ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने १५३ जनालाई पनि कारबाही गरिएको छ।

यसैगरी, लेन अनुशासन पालना नगर्ने १९४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५८ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०९ जना, तोकिएको स्थानमा यात्रु चढाउने तथा ओराल्ने नियम उल्लङ्घन गर्ने ४१ जना चालक कारबाहीमा परेका छन्।

अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार १२१ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा र अनुशासन कायम गर्न नियमित निगरानी तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ। साथै, सबै सवारी चालकलाई नियम पालना गर्न आग्रह गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्न सहयोग गर्न अनुरोध गरेको छ।

  • Clock icon
    २०८३ बैशाख १८, शुक्रबार