काठमाडौं । नेपालीको दैनिक जीवनमा सामान्य मानिने सलाई र लाइटर जस्ता साना सामग्रीको आयातमा समेत चालू आर्थिक वर्षको पछिल्लो ९ महिनामा अर्बौँ रुपैयाँ बाहिरिएको देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार उक्त अवधिमा लाइटर, त्यसका पार्टपुर्जा तथा सलाईको आयातमा कुल २ अर्ब १ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ।
तथ्यांकअनुसार आयातित वस्तुहरूमध्ये सबैभन्दा ठूलो हिस्सा पकेट लाइटरको रहेको छ। १५ करोड १२ लाख थानभन्दा बढी पकेट लाइटर आयात हुँदा मात्रै १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ बाहिरिएको छ। सस्तो र एकपटक प्रयोगपछि फाल्न मिल्ने भएकाले यसको माग उच्च रहेको देखिएको छ।
त्यस्तै, रिफिल गर्न मिल्ने ७ करोड ९७ लाखभन्दा बढी लाइटर आयात हुँदा ५७ करोड १४ लाख रुपैयाँ खर्च भएको छ। लाइटरका पार्टपुर्जा (फ्लिन्ट र विक बाहेक) को आयातमा मात्रै १८ करोड ६८ लाख रुपैयाँ र अन्य प्रकारका लाइटरमा १५ करोड ४६ लाख रुपैयाँ बराबरको आयात भएको तथ्यांकमा उल्लेख छ।
विद्युतीय चुल्हो र आधुनिक साधनको प्रयोग बढ्दै गए पनि सलाईको आयात भने पूर्ण रूपमा रोकिएको छैन। पछिल्लो ९ महिनामा करिब ५२ हजार ७ सय ५७ केजी सलाई १ करोड ९ लाख ५३ हजार रुपैयाँमा आयात भएको छ।
यी सबै आयातबाट राज्यले राजस्वस्वरूप कुल ८४ करोड ८५ लाख रुपैयाँ संकलन गरेको छ। लाइटर र सलाईको आयातबाट प्राप्त यो राजस्वले राज्यको आम्दानीमा सानो तर महत्वपूर्ण योगदान दिएको देखिन्छ।
विश्लेषकहरूका अनुसार स्वदेशमै उत्पादन सम्भव हुने यस्ता सामान्य वस्तुमा पनि बढ्दो परनिर्भरताले व्यापार घाटा व्यवस्थापनमा चुनौती थपिरहेको छ। उनीहरूका अनुसार उत्पादनमुखी क्षमता विस्तार नगरेसम्म साना वस्तुहरूको आयातले समेत अर्थतन्त्रमा दबाब कायम रहनेछ।
