मनसुनपूर्व तयारी बुझ्न मौसम विभाग पुगे ऊर्जा मन्त्री,प्रणाली थप प्रभावकारी बनाउने संकेत

काठमाडौं । मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिन विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुगेका छन्। विभागमा पुगेका उनले वर्तमान मौसम अवस्था, विशेष तथा २४ घण्टे पूर्वानुमान, तीनदिने मौसम विश्लेषण, हवाई मौसम सेवा तथा बाढीसम्बन्धी पूर्वसूचना प्रणालीबारे प्राविधिक र अधिकारीहरूसँग विस्तृत छलफल गरेका थिए।

सो अवसरमा उनले चालु आर्थिक वर्षका कार्यक्रमको समीक्षा गर्नुका साथै आगामी आर्थिक वर्षका योजनाबारे पनि जानकारी लिएका थिए। उनले विभागलाई थप प्रविधिमैत्री बनाउँदै हालको तीनदिने मौसम पूर्वानुमान क्षमतालाई विस्तार गरेर सात दिनसम्मको पूर्वानुमान दिन सक्ने बनाउनेतर्फ मन्त्रालयले पहल गर्ने बताएका छन्।

मनसुन सुरु हुने समय नजिकिँदै गएको उल्लेख गर्दै उनले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र लक्षित समुदायसम्म सहज रूपमा पुर्‍याउन निर्देशन दिएका छन्। उनका अनुसार मौसमसम्बन्धी सूचना समयमै उपलब्ध हुनु विपद् व्यवस्थापनको महत्वपूर्ण आधार हो।

उनले विभागलाई मौसम अध्ययनको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै त्यहाँबाट प्राप्त हुने सूचना र तथ्यांकलाई सरकारी निकाय तथा सेवा प्रदायक संस्थाहरूले प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

सीमित स्रोत, साधन र जनशक्तिका बाबजुद निरन्तर रूपमा मौसम पूर्वानुमान र पूर्वसूचना प्रवाहमा खटिएका प्राविधिक तथा कर्मचारीहरूको कामप्रति उनले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा उनीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने पनि बताएका छन्।

कार्यक्रममा सरिता दवाडीडा. अर्चना श्रेष्ठ ले विभागका वर्तमान गतिविधि, मौसम पूर्वानुमान प्रणाली तथा बाढी पूर्वसूचनासम्बन्धी कार्यप्रगतिबारे जानकारी गराएका थिए।