पठाओमा नेतृत्व परिवर्तन, नयाँ सम्भावनाको सुरुवात

काठमाडौँ । नेपालमा राइड–सेयरिङ सेवाको पर्याय बनेको पठाओ नेपाल का प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात बाहिरिएका छन्। सन् २०१८ देखि सञ्चालनमा आएको कम्पनीले बस्न्यातको नेतृत्वपछि नेपालमा राइड–सेयरिङ सेवाको नयाँ संस्कृतिको सुरुवात गरेको मानिन्छ।

सुरुवाती चरणमा नियामकीय अस्पष्टता, बजारप्रतिको अविश्वास र पूर्वाधार अभावजस्ता चुनौतीका बीच बस्न्यातको नेतृत्वमा कम्पनीले द्रुत विस्तार गरेको थियो। उनको नेतृत्वमा पठाओले केवल सेवा विस्तार मात्र नगरी शहरी जीवनशैलीमा नै राइड–सेयरिङ प्रयोगको अभ्यासलाई स्थापित गरेको बताइन्छ।

हाल पठाओ नेपाल नेपाल का सातै प्रदेश तथा काठमाडौँ उपत्यकामा सञ्चालनमा छ। कम्पनीले हजारौँ चालक साझेदारलाई रोजगारी र आम्दानीको अवसर उपलब्ध गराउँदै गिग अर्थतन्त्रको विस्तारमा महत्वपूर्ण योगदान दिएको छ।

पछिल्लो समय कम्पनीले आफ्नो सेवा क्षेत्रलाई थप विस्तार गर्दै बहुआयामिक डिजिटल प्लेटफर्मका रूपमा विकास गरिरहेको छ। अब पठाओ केवल राइड–सेयरिङमा सीमित नभई लामो दूरीको सवारी बुकिङ, सहरबीच यातायात सेवा, खाना डेलिभरी, पार्सल डेलिभरी तथा बजार प्लेटफर्मजस्ता सेवासमेत प्रदान गर्दै एकीकृत डिजिटल सेवा केन्द्रतर्फ अघि बढिरहेको छ।

पठाओ नेपालले बस्न्यातको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै उनको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ। कम्पनीले उनको नेतृत्वले नेपालमा डिजिटल मोबिलिटी सेवाको आधार तयार गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।