विद्युत् प्राधिकरणमा नयाँ नेतृत्वको सुरुवात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण को निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु श्रेष्ठलाई दिइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ ले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई उक्त जिम्मेवारीमा नियुक्त गरेका हुन्।

नयाँ जिम्मेवारी पाउनुअघि श्रेष्ठ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। प्राविधिक तथा प्रशासनिक अनुभव भएका श्रेष्ठलाई प्राधिकरणको दैनिक कार्य सञ्चालन र व्यवस्थापनलाई अघि बढाउने उद्देश्यसहित जिम्मेवारी दिइएको हो।

यसअघि प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा हितेन्द्र देव शाक्य कार्यरत थिए। तर सरकारले हालै जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार उनी स्वतः पदमुक्त भएपछि उक्त पद रिक्त भएको थियो।

रिक्त रहेको नेतृत्वमा श्रेष्ठको नियुक्ति भएसँगै प्राधिकरणको प्रशासनिक तथा सञ्चालन कार्यमा निरन्तरता आउने अपेक्षा गरिएको छ। ऊर्जा क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरूले यो नियुक्तिले प्राधिकरणको दैनिक कार्यसम्पादनमा स्थिरता ल्याउने विश्वास व्यक्त गरेका छन्।