काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ। कार्यालयअन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालले औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै व्यवसायलाई गणनामा समेटिन आग्रह गरेका हुन्।
मुलुकको वास्तविक आर्थिक अवस्था पहिचान गर्ने तथा आर्थिक नीतिनिर्माणमा आधार प्रदान गर्ने उद्देश्यसहित आर्थिक गणना वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन भइरहेको छ।
गणनाका क्रममा व्यावसायिक कृषि, खानी, उत्पादन तथा उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था र अन्य व्यापारिक प्रतिष्ठानहरूको तथ्याङ्क संकलन भइरहेको कार्यालयले जनाएको छ।
हालसम्म करिब ४ लाख ८० हजार व्यावसायिक संस्था गणनामा समावेश भइसकेका छन्। वैशाख २२ गतेसम्म देशभर ३२ प्रतिशत आर्थिक गणना सम्पन्न भएको निर्देशक डा. ढकालले जानकारी दिए।
विसं २०७५ मा पहिलोपटक गरिएको आर्थिक गणनापछि यो दोस्रो संस्करण हो। देशको समग्र आर्थिक अवस्थाको यथार्थ चित्र तयार पार्ने लक्ष्यसहित सञ्चालन भइरहेको यस कार्यका लागि ३ हजार ९०६ गणक र ५२६ सुपरिवेक्षक खटिएका छन्।
गणकहरूले देशभर स्थलगत रूपमा उद्योग, व्यापार, सेवा क्षेत्र तथा अन्य व्यवसायिक गतिविधिको विवरण संकलन गरिरहेका छन्। साथै, केही प्रतिष्ठानहरूले अनलाइन माध्यमबाट पनि आफ्नो विवरण भर्ने व्यवस्था गरिएको छ।
हालसम्म ७ हजार ४५३ प्रतिष्ठानले अनलाइनमार्फत विवरण भर्ने प्रतिबद्धता जनाएका छन् भने तीमध्ये १ हजार ६१५ प्रतिष्ठानले विवरण भरेर गणनामा सहभागिता जनाइसकेका छन्।
गणनालाई प्रभावकारी बनाउन सबै प्रदेशमा प्रमुख सचिवको अध्यक्षतामा प्रदेश आर्थिक गणना समन्वय समिति तथा जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला समन्वय समिति गठन गरिएको छ।
त्यस्तै, स्थानीय तहसम्म सही र भरपर्दो तथ्याङ्क संकलन सुनिश्चित गर्न वडास्तरमा समेत समिति गठन गरिएको कार्यालयले जनाएको छ। आर्थिक विकासका लागि आवश्यक नीति निर्माणमा यो गणना महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।
