काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ले आफ्ना ग्राहकका लागि कार्ड सुरक्षा व्यवस्थापनलाई थप सरल र डिजिटल बनाएको छ। बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ग्लोबलस्मार्ट+ मार्फत अब हराएको वा जोखिममा परेको डेबिट, क्रेडिट तथा ई–कमर्स कार्ड तत्काल ब्लक गर्न सकिने सुविधा उपलब्ध छ।
ग्लोबलस्मार्ट+ लाई बैंकले आधुनिक डिजिटल बैंकिङ समाधानका रूपमा विकास गरेको हो। यस एपमार्फत खाता व्यवस्थापन, रकम स्थानान्तरण, बिल भुक्तानी लगायतका सेवासँगै कार्ड नियन्त्रणलाई पनि सुरक्षित र सहज बनाइएको छ।
कार्ड हराएको वा अनधिकृत प्रयोगको शंका लागेमा प्रयोगकर्ताले केही क्लिकमै कार्ड ब्लक गर्न सक्ने सुविधा रहेको छ। यसले सम्भावित अनधिकृत कारोबार रोक्दै ग्राहकको रकम सुरक्षित राख्न सहयोग गर्छ।
बैंकका अनुसार कार्ड ब्लक गर्ने प्रक्रिया एप खोल्ने, सुरक्षित लगइन गर्ने, ‘कार्ड’ मेनु छनोट गर्ने, सम्बन्धित कार्ड चयन गर्ने र ब्लक विकल्प पुष्टि गर्ने सरल चरणमा आधारित छ।
यो सुविधाले ग्राहकलाई तत्काल सुरक्षा प्रदान गर्ने, बैंक वा कल सेन्टरमा सम्पर्क गर्नुपर्ने झन्झट कम गर्ने र २४ सै घण्टा जुनसुकै स्थानबाट पनि वित्तीय नियन्त्रण गर्न सक्ने क्षमता प्रदान गरेको छ।
ग्लोबलस्मार्ट+ मा कार्ड ब्लक/अनब्लक सुविधा बाहेक रकम स्थानान्तरण, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी, फिक्स्ड डिपोजिट व्यवस्थापन तथा ट्रान्जेक्सन हिस्ट्री जस्ता सेवा पनि उपलब्ध छन्।
डिजिटल बैंकिङको बढ्दो प्रयोगसँगै यस्तो सुरक्षा सुविधा अत्यावश्यक बनेको बैंकले जनाएको छ। ग्राहकलाई तत्काल निर्णय लिन सक्ने क्षमता प्रदान गरेर वित्तीय जोखिम न्यूनीकरण गर्न यो प्रणाली प्रभावकारी हुने विश्वास बैंकले लिएको छ।
