काठमाडौं । चितवन मेडिकल कलेज (सीएमसी) को नेतृत्वमा काठमाडौँको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन हुने भएका छन्।
काठमाडौँको तीनकुनेमा निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पताल आगामी दशैँको घटस्थापनादेखि सञ्चालनमा आउने चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले जानकारी दिएका छन्।
शत्र रोपनी जमिनमा करिब १२ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको उक्त अस्पताललाई विश्वस्तरीय सुविधा सम्पन्न स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गरिने योजना रहेको छ। सञ्चालनको प्रारम्भिक चरणमै भारतको मेदान्त अस्पताल ले व्यवस्थापन गर्नेछ।
यो तीन सय शय्याको अस्पतालले मुख्य रूपमा क्यान्सर उपचारलाई प्राथमिकता दिनेछ भने अन्य सबै प्रकारका विशेषज्ञ तथा अतिविशिष्टकृत स्वास्थ्य सेवा उपलब्ध गराइने जनाइएको छ। अत्याधुनिक उपकरण र अन्तर्राष्ट्रिय अनुभव प्राप्त चिकित्सकहरूको सहभागितामा सेवा प्रदान गरिने बताइएको छ।
प्रा. डा. न्यौपानेका अनुसार यस अस्पतालले भारत तथा अन्य देशमा उपचारका लागि जाने बिरामीलाई स्वदेशमै समान स्तरको उपचार सुविधा दिने लक्ष्य राखेको छ।
यसैबीच, सीएमसीको नेतृत्वमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ मा पनि नयाँ अस्पताल निर्माण सुरु गरिएको छ। करिब १९ कट्ठा जमिनमा निर्माण भइरहेको उक्त परियोजनालाई प्रताप देवकोटा को नेतृत्वमा अघि बढाइएको हो।
करिब २ अर्ब ५० करोड रुपैयाँ लगानी अनुमान गरिएको उक्त एक सय शय्याको अस्पताल विसं २०८४ को दशैँदेखि सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यसले मकवानपुर र आसपासका जिल्लाका बासिन्दालाई विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।
हाल ती क्षेत्रका बिरामीहरू काठमाडौँ, भरतपुर वा भारतसम्म जानुपर्ने बाध्यता रहेको अवस्थामा नयाँ अस्पतालहरूले स्वास्थ्य सेवा पहुँचलाई सहज बनाउने विश्वास गरिएको छ। साथै, स्थानीय स्तरमा रोजगारीका अवसर पनि सिर्जना हुनेछन्।
२० वर्षअघि स्थापना भएको चितवन मेडिकल कलेज हाल सात सय शय्याबाट सेवा दिँदै आएको छ। यसले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ।
सीएमसीको यो विस्तारलाई नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी र अत्याधुनिक उपचार सेवातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
