अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारलाई लिएर पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले यस प्रकरणमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गर्दै बिहीबार मुद्दा दर्ता गरेको हो । विशेष अदालतका अनुसार उक्त मुद्दा हाल रुजु हुने प्रक्रियामा रहेको छ । पोखरा विमानस्थल निर्माणका सन्दर्भमा अख्तियारले दर्ता गरेको यो तेस्रो भ्रष्टाचार मुद्दा हो ।
मुद्दा दायर गरिएकाहरूमा पूर्व अर्थमन्त्री कार्कीसहित तत्कालीन अर्थ सचिव शंकरप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, पूर्व सचिव केवल भण्डारी र तत्कालीन सहसचिव सुरेश आचार्य रहेका छन् । त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम, निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, तत्कालीन सहसचिव दुण्डुराज घिमिरे, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी र इन्जिनियर योगेश अर्याललाई पनि विपक्षी बनाइएको छ ।
अख्तियारले यसअघि गत २१ मंसिरमा पाँच जना मन्त्रीहरूलाई विपक्षी बनाएर र ८ चैतमा विमानस्थल निर्माणकै विषयमा अर्को मुद्दा दायर गरिसकेको थियो । विमानस्थल निर्माणका क्रममा आर्थिक अनियमितता र लागत अनुमानमा गडबडी भएको ठहर गर्दै आयोगले उच्च पदस्थ अधिकारीहरूमाथि कानूनी कारबाही अघि बढाएको हो ।
यो मुद्दाले नेपालको सार्वजनिक निर्माण क्षेत्रमा हुने नीतिगत र संस्थागत भ्रष्टाचारको गम्भीर पाटोलाई उजागर गरेको छ ।