नेपाली स्वादमा अन्तर्राष्ट्रिय मञ्च

  • Clock icon
    २०८३ बैशाख २५, शुक्रबार

दमक । नेपाली खानाको मौलिकता, विविधता र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो राष्ट्रिय कूलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ ।

इन्टरनेश्नल नेपाली शेफ सोसाइटी र नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा हुने यो प्रतियोगिता आगामी जेठ १ र २ गते पाथिभरा कूलिनरी आर्ट कलेज, दमकमा सञ्चालन हुनेछ ।

आयोजकका अनुसार प्रतियोगितामार्फत नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतातर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ । यसमा सातै प्रदेशका मौलिक तथा रैथाने परिकारहरूको खोज, संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिइनेछ ।

लोपोन्मुख परिकारदेखि परम्परागत स्वादसम्मलाई एउटै मञ्चमा प्रस्तुत गरिने यस कार्यक्रमले आधुनिक कूलिनरी प्रविधि र परम्परागत स्वादबीच सन्तुलन कायम गर्दै नयाँ पुस्ताका शेफलाई सिर्जनशीलता र नवप्रवर्तनतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमअन्तर्गत खुला पाककला प्रतियोगिता, विभिन्न फुड कम्पिटिसन तथा आकर्षक फुड फेस्टिभल आयोजना गरिनेछ । फेस्टिभलमा ५० भन्दा बढी स्टल रहनेछन्, जहाँ स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका परिकारहरूको स्वाद लिन सकिनेछ ।

प्रतियोगितामा १० भन्दा बढी देशका अनुभवी अन्तर्राष्ट्रिय शेफहरू निर्णायकका रूपमा सहभागी हुनेछन् । उनीहरूको उपस्थितिले नेपाली शेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन तथा अनुभव आदानप्रदानको अवसर प्राप्त हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताका लागि ३ जनाको टिम अनिवार्य गरिएको छ भने दर्ता शुल्क बुझाएर मात्र सहभागिता सुनिश्चित गर्न सकिनेछ ।

प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख रुपैयाँ, द्वितीयले ७५ हजार रुपैयाँ र तृतीयले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यो कार्यक्रमले नेपाली पाककलालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण अवसर हुने आयोजकको विश्वास छ ।

  • Clock icon
    २०८३ बैशाख २५, शुक्रबार