काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती समूहबीच पार्टी एकताको सहमति भएको छ । बिहीबार राति भएको दुई पक्षीय वार्तापछि एकतासम्बन्धी सहमति जुटेको हो ।
किराती निकट स्रोतका अनुसार उनलाई वरिष्ठ नेताको भूमिका दिने तथा उनीसँग आबद्ध केही नेताको व्यवस्थापन गर्नेगरी सहमति भएको बताइएको छ । सहमतिपछि आजै राजधानीमा औपचारिक एकता घोषणा गर्ने तयारी गरिएको छ ।
पूर्वमाओवादी नेता किराती यसअघि चुनावअघि प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए । तर सो पार्टी पनि उनले पछि परित्याग गरेका थिए ।
माओवादी केन्द्रमा रहँदा उनी तीन पटक सांसद र एक पटक मन्त्री बनेका थिए । माओवादी छाडेपछि उनी जनार्दन शर्मासँग निकट रहेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा सक्रिय भएका थिए । गत निर्वाचनमा उक्त पार्टीले अपेक्षित परिणाम नल्याएपछि उनी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए ।
नयाँ एकतासँगै श्रम संस्कृति पार्टीलाई थप संगठित बनाउने र राजनीतिक विस्तार गर्ने लक्ष्य राखिएको नेताहरूले बताएका छन् ।
