छिमेक लघुवित्तकोअपरिष्कृत वित्तीय विवरण सार्वजनिक

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२ प्रतिशतको वृद्धि हो । गत वर्षको यसै अवधिमा संस्थाले ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी २ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ । चालू आवमा खुद ब्याज आम्दानी पनि ६.७२ प्रतिशतले बढेको छ, जुन गत आवमा २ अर्ब ६ करोड ४२ लाख रुपैयाँ मात्रै थियो । कुल सञ्चालन आम्दानी पनि ७.१२ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ पुगेको छ जुन गत आवमा २ अर्ब ३३ करोड २९ लाख रुपैयाँ थियो ।

ब्याज खर्चमा भएको वृद्धिका बाबजुद संस्थाले आफ्नो सञ्चालन मुनाफालाई स्थिर राख्न सफल भएको देखिएको छ । विवरणअनुसार कर र अन्य व्यवस्था अघिको सञ्चालन मुनाफा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ । चालू आवमा कम्पनीको सञ्चालन मुनाफा पनि १ अर्ब २० करोड २१ लाख रुपैयाँबाट ५.६३ प्रतिशतले बढेर १ अर्ब २६ करोड ९७ लाख रुपैयाँ पुगेको छ

सेयरधनीहरूका लागि महत्त्वपूर्ण मानिने वितरणयोग्य मुनाफा भने चैत मसान्तसम्ममा १ अर्ब ८४ करोड ७० लाख रुपैयाँबाट ६ प्रतिशतले बढेर १ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

व्यवसाय विस्तारका हिसाबले लघुवित्तको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा सुधार देखिएको छ । चैत मसान्तसम्ममा संस्थाको कुल सम्पत्तिको आकार बढेर ५७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाले सदस्यहरूबाट ४४ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको अन्त्यमा संस्थाको कर्जा प्रवाह ३९ अर्ब २८ करोड रुपैयाँ मात्र सीमित थियो ।

समीक्षा अवधिमा प्रतिसेयर आम्दानी भने ३५.३९ रुपैयाँबाट घटेर ३३.४१ रुपैयाँमा झर्दा खराब कर्जा पनि २.६० प्रतिशतबाट घटेर २.३२ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २४१.९३ रुपैयाँ रहेको छ भने बेसरेट ११.७८ प्रतिशत कायम भएको वित्तीय विवरणमा उल्लेख छ ।