कोष विस्तारमा आईजीआईको छलाङ

काठमाडौं । IGI Prudential Insurance ले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म व्यवसाय विस्तार र बीमा कोष वृद्धिमा उल्लेखनीय प्रगति हासिल गरेको छ । यद्यपि, दाबी भुक्तानीको उच्च दबाबका कारण कम्पनीको खुद नाफामा भने तीव्र गिरावट देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्म कम्पनीको बीमा कोष ७५.७० प्रतिशतले बढेर ७ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष ४ अर्ब २५ करोड ९७ लाख रुपैयाँ रहेको थियो । बीमा कोषमा आएको उल्लेख्य वृद्धिले कम्पनीको व्यवसायिक दायरा र जोखिम वहन क्षमता बलियो बन्दै गएको संकेत गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी पनि १२.१४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ९२ करोड ९१ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर १ अर्ब ४ करोड १९ लाख रुपैयाँ पुगेको हो । कम्पनीको कुल आम्दानी समेत २.९८ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

यद्यपि, लगानी तथा कर्जाबाट हुने आम्दानीमा भने केही संकुचन आएको छ । यस्तो आम्दानी घटेर १४ करोड ७९ लाख रुपैयाँमा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ ।

व्यवसाय विस्तारका सूचकहरू सकारात्मक देखिए पनि कम्पनीको खुद नाफामा भने ठूलो गिरावट आएको छ । अघिल्लो वर्षको सोही अवधिमा २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू वर्षको तेस्रो त्रैमाससम्म जम्मा ४ लाख ३८ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९९.८३ प्रतिशतको गिरावट हो ।

कम्पनीका अनुसार ‘जेनजी’ आन्दोलन तथा देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोका कारण ठूलो परिमाणमा बीमा दाबी पर्नु नाफा घट्नुको मुख्य कारण बनेको हो । दाबी भुक्तानी र सञ्चालन खर्च बढ्दा कम्पनीको आम्दानीमा प्रत्यक्ष दबाब परेको देखिन्छ ।

वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

नाफामा आएको तीव्र गिरावटका कारण प्रतिशेयर आम्दानी पनि उल्लेख्य रूपमा खुम्चिएको छ । अघिल्लो वर्ष ११ रुपैयाँ ६७ पैसा रहेको प्रतिशेयर आम्दानी घटेर यस वर्ष २ पैसा मात्रै कायम भएको छ ।

त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ ७२ पैसा रहेको छ । समीक्षा अवधिमा अभिकर्ता कमिसन खर्च ८२.०७ प्रतिशतले बढेर ७ करोड ७१ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

समग्रमा, नाफामा दबाब देखिए पनि बीमा कोष, व्यवसाय विस्तार र आम्दानी वृद्धिले कम्पनीको आधारभूत अवस्था अझै सुदृढ रहेको संकेत गरेको छ ।