काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को नाफामा उल्लेख्य गिरावट देखिए पनि व्यवसाय विस्तार र केही वित्तीय सूचकमा सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा करिब ४७ प्रतिशतले घटेको हो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैत मसान्तसम्म १३ करोड ३२ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड १९ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो । नाफामा आएको गिरावटको प्रमुख कारण दाबी भुक्तानी र सञ्चालन खर्च वृद्धि भएको कम्पनीले जनाएको छ ।
नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा पनि असर परेको छ । गत वर्ष १२ रुपैयाँ ८१ पैसा रहेको प्रतिशेयर आम्दानी घटेर ६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८९.६३ गुणा कायम भएको छ ।
कम्पनीको दाबी भुक्तानी उल्लेख्य रूपमा बढेको छ । कुल दाबी भुक्तानी १८.७७ प्रतिशतले वृद्धि भई ३ अर्ब २ करोड ५९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल खर्च पनि १०.९९ प्रतिशतले बढेको छ । अभिकर्ता कमिसन खर्च भने ९४.९६ प्रतिशतले बढेर ६ करोड ६८ लाख रुपैयाँ पुगेको छ, जसले सञ्चालन दबाब थपेको देखिन्छ ।
व्यवसाय विस्तारको पक्षमा भने केही चुनौती देखिएको छ । समीक्षा अवधिमा कम्पनीले २ लाख १ हजार ८३८ वटा बीमालेख जारी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा केही कम हो ।
यता, कम्पनीको रिटेन्ड अर्निङमा ५९.३८ प्रतिशतको गिरावट आएको छ । गत वर्ष ४६ करोड ३२ लाख रुपैयाँ रहेको यस्तो आम्दानी घटेर १८ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ३६.६१ प्रतिशतले घटेर १८ करोड ३९ लाख रुपैयाँमा झरेको छ ।
तर, केही सूचकमा भने सुधार देखिएको छ । कम्पनीको बीमा कोष ११.२१ प्रतिशतले बढेर ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । नेट अर्न्ड प्रिमियम पनि १४.०९ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ पुगेको छ । साथै, महाविपत्ति जगेडा कोष ६.२४ प्रतिशतले बढेर २२ करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।
समग्रमा, नाफामा दबाब देखिए पनि बीमा कोष र प्रिमियम वृद्धिले कम्पनीको दीर्घकालीन व्यवसायिक आधार भने विस्तार भइरहेको संकेत गरेको छ ।
