काठमाडौं । गरिमा विकास बैंक “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” उपाधिबाट सम्मानित भएको छ। यो सम्मान न्यू बिजनेस एजद्वारा आयोजना गरिएको न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्सको दसौँ संस्करणमा प्रदान गरिएको हो।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले को प्रमुख आतिथ्यतामा उक्त अवार्ड वितरण गरिएको थियो। बैंकले ग्राहकलाई सरल, सुरक्षित, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यसहित गरिरहेको कार्यलाई आधार मानेर यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
अवार्ड प्राप्तिसँगै बैंकले आफ्नो सेवा विस्तार र वित्तीय प्रणालीलाई अझ आधुनिक बनाउने दिशामा थप प्रेरणा मिलेको जनाएको छ। संस्थाका अनुसार यो उपलब्धिले ग्राहक सेवा सुधार, डिजिटल बैंकिङ विस्तार र वित्तीय समावेशीकरणको लक्ष्यलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
गरिमा विकास बैंक यसअघि पनि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा विभिन्न अवार्डहरूबाट सम्मानित भइसकेको छ। सन् २०२५ अगष्ट २९ मा भारतीय चेम्बर अफ कमर्शद्वारा आयोजित इमर्जिङ एसिया बैंकिङ अवार्डमा बैंकले ‘द बेस्ट बैंक’ तथा ‘बेस्ट एआई/एमएल इम्प्लिमेन्टेशन’ विधामा उत्कृष्टता हासिल गरेको थियो। त्यस्तै ‘बेस्ट एमएसएमई एक्सिलेरेसन’ विधामा रनरअप बन्न सफल भएको थियो।
त्यसैगरी, सन् २०२५ फेब्रुअरी २५ मा कर्पोरेट क्लब नेपालद्वारा आयोजित अवार्ड समारोहमा बैंकले ‘दी एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ पनि प्राप्त गरेको थियो।
निरन्तर प्राप्त हुँदै आएका यी सम्मानहरूले गरिमा विकास बैंकलाई नेपालको विकास बैंकिङ क्षेत्रमा एक सशक्त र प्रतिस्पर्धी संस्थाका रूपमा स्थापित गर्दै गएको देखिएको छ। बैंकले आगामी दिनमा अझ प्रभावकारी, प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
