काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नेपालमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) उल्लेखनीय रूपमा बढ्दै १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। यो तथ्याङ्क नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख गरिएको हो।
प्रतिवेदन अनुसार समीक्षा अवधिमा रेमिट्यान्स ३९.१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा भने रेमिट्यान्स वृद्धिदर १०.२ प्रतिशत मात्र रहेको थियो। यसले चालु वर्षमा वैदेशिक आम्दानी प्रवाहमा उल्लेखनीय सुधार भएको देखाएको छ।
२०८२ चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ, जसले मासिक आधारमा समेत उच्च प्रवाह देखाएको छ।
वैदेशिक रोजगारीतर्फ पनि गत वर्षको तुलनामा केही परिवर्तन देखिएको छ। समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ गरी वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ लाख ९४ हजार १८६ रहेको छ। त्यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ९३ हजार २५९ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ४९ हजार ६५२ रहेको थियो।
समग्रमा हेर्दा वैदेशिक रोजगारीतर्फ नयाँ श्रमिकको संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने तीव्र रूपमा बढेको देखिएको छ। यसले विदेशमा रहेका नेपाली श्रमिकहरूको आम्दानी क्षमता बढेको र देशको अर्थतन्त्रमा उनीहरूको योगदान अझ मजबुत भएको संकेत गरेको छ।
