सिटिजन लाइफको वित्तीय छलाङ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा आफ्नो वित्तीय अवस्थामा उल्लेखनीय सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार जीवन बीमा कोष, आम्दानी र नाफा सबै सूचकमा सकारात्मक वृद्धि देखिएको हो।

कम्पनीको जीवन बीमा कोष एक वर्षको अवधिमा ३६ प्रतिशतले बढेर २४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा उक्त कोष १८ अर्ब रुपैयाँ रहेको थियो। बीमा कोषको आकारमा आएको यो वृद्धि कम्पनीको वित्तीय स्थायित्व र दीर्घकालीन दायित्व वहन क्षमता मजबुत बन्दै गएको संकेतका रूपमा हेरिएको छ।

समीक्षा अवधिमा कम्पनीले ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा ३५ करोड ७६ लाख रुपैयाँ रहेको थियो। नाफामा सामान्य वृद्धि भए पनि व्यवसाय विस्तार र लगानी व्यवस्थापनले कम्पनीको आधार बलियो बनाएको देखिन्छ।

कम्पनीको कुल आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। नौ महिनाको अवधिमा आम्दानी १९.७८ प्रतिशतले वृद्धि भई ७ अर्ब ५६ करोड रुपैयाँ नाघेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको आम्दानी ६ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो।

लगानीबाट प्राप्त प्रतिफल तथा बीमा पोलिसी धितोमा प्रवाह गरिएको कर्जाबाट हुने आम्दानी बढेकाले कम्पनीको समग्र राजस्वमा सकारात्मक प्रभाव परेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

यता, व्यवसाय विस्तार, बजार प्रवर्द्धन तथा कर्मचारी व्यवस्थापनमा भएको खर्चका कारण कम्पनीको कुल खर्च पनि २०.९२ प्रतिशतले बढेर ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ६० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ १७ पैसा कायम भएको छ। गत वर्ष यही अवधिमा प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५४ पैसा रहेको थियो।

बीमा पोलिसीको संख्यामा भने केही गिरावट देखिएको छ। गत वर्ष १० लाख १५ हजार पोलिसी कायम रहेकोमा चालु आर्थिक वर्षको नौ महिनासम्म आइपुग्दा ७ लाख ८८ हजार पोलिसी मात्र सक्रिय रहेका छन्।

बजारमा ब्याजदर घट्दो अवस्थामा रहे पनि कम्पनीले लगानी व्यवस्थापन र सञ्चालन दक्षतामार्फत आम्दानी वृद्धि गर्न सफल भएको देखिन्छ। वित्तीय सूचकमा आएको सुधारले कम्पनीको दीर्घकालीन सम्भावना थप सुदृढ बन्दै गएको विश्लेषण गरिएको छ।