काठमाडौँ । अपि पावर कम्पनी लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो नाफामा उल्लेखनीय वृद्धि भएको जनाएको छ।
कम्पनीका अनुसार समीक्षा अवधिमा खुद नाफा अघिल्लो वर्षको तुलनामा ८६.३० प्रतिशतले बढेर ६५ करोड ८५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३५ करोड ३४ लाख रुपैयाँ मात्र रहेको थियो।
विद्युत बिक्रीबाट हुने आम्दानीमा सुधार र खर्च व्यवस्थापनमा आएको दक्षताका कारण कम्पनीको समग्र वित्तीय प्रदर्शन बलियो बनेको देखिएको छ। विवरणअनुसार विद्युत बिक्री आम्दानी १ अर्ब १९ करोड रुपैयाँबाट बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।
सञ्चालन मुनाफा पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ८७ करोड ७६ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
खर्च पक्षमा पनि सुधार देखिएको छ। ब्याज खर्च अघिल्लो वर्षको ४५ करोड ८८ लाख रुपैयाँबाट घटेर ३१ करोड ८५ लाख रुपैयाँमा झरेको छ। त्यस्तै प्रशासनिक खर्च पनि ३ करोड २७ लाखबाट घटेर २ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको चुक्ता पुँजी हाल ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। जगेडा कोष (रिटेन्ड अर्निङ) मा ९७ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।
यसैगरी कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (ईपीएस) १३.७६ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ ११५.३२ रुपैयाँ कायम भएको छ।
समग्रमा विद्युत बिक्री आम्दानी वृद्धि र खर्च नियन्त्रणले अपि पावरको वित्तीय स्थिति अझ मजबुत बनेको देखिएको छ।
