काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा आम्दानी, नाफा तथा प्रतिसेयर आम्दानी (ईपीएस) दुवैमा उल्लेखनीय सुधार गरेको छ।
कम्पनीका अनुसार समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ७.२६ रुपैयाँबाट बढेर १०.४९ रुपैयाँ पुगेको छ। विद्युत बिक्री आम्दानीमा आएको सुधारका कारण समग्र वित्तीय प्रदर्शनमा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि १२ करोड १३ लाख रुपैयाँबाट बढेर १३ करोड ४ लाख रुपैयाँ पुगेको छ। आम्दानी वृद्धि सँगै कम्पनीको खुद नाफा ६ करोड २९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८५.२६ प्रतिशतले बढी हो।
खर्च पक्षमा भने सुधार देखिएको छ। वित्त खर्च अघिल्लो वर्ष ५ करोड ६० लाख रुपैयाँ रहेकोमा घटेर २ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ।
त्यस्तै प्रशासनिक खर्च ३६ लाख ३५ हजार रुपैयाँ र ह्रासकट्टी खर्च ४ लाख ७० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
कम्पनीका वित्तीय सूचकहरू पनि सुदृढ देखिएका छन्। समीक्षा अवधिसम्म प्रतिसेयर नेटवर्थ १००.४५ रुपैयाँ कायम भएको छ। त्यस्तै पीई रेसियो ३५.२७ गुणा र तरलता अनुपात २.३६ प्रतिशत रहेको कम्पनीले जनाएको छ।
समग्रमा आम्दानी वृद्धि र वित्तीय खर्च घटेसँगै तेह्रथुम पावरको वित्तीय अवस्था थप मजबुत बन्दै गएको देखिएको छ।
