अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि चीन भ्रमणमा पुगेका छन् । तीन दिने राजकीय भ्रमणका लागि उनी आज बेइजिङ ओर्लिएका हुन् ।
एयर फोर्स वान विमानमा बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेका राष्ट्रपति ट्रम्पलाई चिनियाँ सरकारले भव्य स्वागत गरेको छ । उपराष्ट्रपति हान जेङ र कूटनीतिज्ञ शी फेङले विमानस्थलमा स्वागत गरेका थिए भने नीलो र सेतो रङको युनिफर्ममा उपस्थित करिब ३ सय बालबालिकाले अमेरिका र चीनको झण्डा फहराएका थिए ।
ट्रम्पसँगै उनका छोरा एरिक ट्रम्प र बुहारी लारा ट्रम्प पनि भ्रमणमा सहभागी छन् । यसक्रममा बालबालिकाले मन्डारिन भाषामा ‘वेलकम’ को नारा लगाएका थिए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र ट्रम्पबीच बिहीबार र शुक्रबार अलग(अलग चरणमा वार्ता हुनेछ । दुवै नेताबीच व्यापार, ताइवान, दुर्लभ खनिज, एआई र इरान युद्धजस्ता मुद्दामा छलफल हुने सम्भावना रहेको चीनिया समाचार संस्थाहरुले जनाएका छन् ।
ट्रम्प १५ मेसम्म बेइजिङमा रहनेछन् । यो सन् २०१७ पछिको उनको पहिलो भ्रमण हो ।
१७ ठूला व्यवसायी पनि चीनमा
इलन मस्क, एप्पलका सीईओ टिम कुक र बोइङका सीईओसहित १७ जना ठूला अमेरिकी व्यवसायी पनि राष्ट्रपति ट्रम्पसँगै बेइजिङ पुगेका छन् । तर, चिप कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ भने सहभागी छैनन् ।
समाचारमा जनाइएअनुसार यो भ्रमणमा इतिहासकै सबैभन्दा ठूलो ९ लाख करोड रुपैयाँभन्दा बढीको बोइङ विमान सम्झौता हुने सम्भवना छ । चीनले ५०० बोइङ ७३७ म्याक्स, १०० बोइङ ७८७ ड्रिमलाइनर र केही ७७७ एक्स वाइडबडी विमान खरिद गर्न सक्नेछ ।
‘इरान युद्ध टुंग्याउन चीनको आवश्यकता छैन’
यसैबीच ट्रम्पले इरानसँग चलिरहेको युद्ध समाप्त गर्न आफूलाई चीनको सहयोग आवश्यक नभएको बताएका छन् । उनले यो कुरा वाशिङटनबाट बेइजिङ प्रस्थान गर्दा भनेका थिए ।
पत्रकारहरूसँगको कुराकानीमा भने, ‘मलाई लाग्दैन कि हामीलाई इरानको मामिलामा कसैको सहयोग चाहिन्छ । अमेरिकाले यो युद्ध जसरी पनि जित्नेछ ।’
जनआस्थाबाट साभार
