सुधारतर्फ सभा राइस

काठमाडौं । रूपन्देहीको रोहिणी–३ मा रहेको खाद्यान्न प्रशोधन उद्योग ‘आनन्द राइस एण्ड आयल इन्डस्ट्रिज प्रालि’ पछिल्ला वर्षहरूमा व्यापार र नाफा दुवैमा उल्लेख्य दबाबमा परेको छ। केयर रेटिङ्स नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको कारोबार लगातार घट्दै गएको देखिएको छ भने वित्तीय अवस्था पनि चुनौतीपूर्ण बनेको छ।

कम्पनीले आर्थिक वर्ष २०२३ मा १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो। तर, आर्थिक वर्ष २०२४ मा कारोबार घटेर ८ करोड ३० लाख रुपैयाँमा सीमित भयो। गत आर्थिक वर्ष २०२५ मा व्यापार थप खुम्चिँदै ५ करोड १० लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३८ प्रतिशतले कम हो।

व्यापारसँगै सञ्चालन नाफा मार्जिनमा पनि तीव्र गिरावट आएको छ। आर्थिक वर्ष २०२४ मा १३.८३ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२५ मा घटेर ५.३० प्रतिशतमा सीमित भएको छ। कम्पनीले आर्थिक वर्ष २०२३ देखि २०२५ सम्म निरन्तर नगद घाटा व्यहोर्दै आएको तथ्य पनि सार्वजनिक भएको छ।

कमजोर आम्दानीका बीच कम्पनीले कुल ८३ करोड ९९ लाख रुपैयाँ बराबरको बैंक कर्जाका लागि रेटिङ गराएको छ। यसमध्ये ३७ करोड ९९ लाख रुपैयाँको दीर्घकालीन कर्जालाई ‘बी प्लस’ तथा ४६ करोड रुपैयाँको अल्पकालीन कर्जालाई ‘एफाेर’ रेटिङ दिइएको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको ऋण–पुँजी अनुपात ३.९५ गुणा पुगेको छ, जसले वित्तीय दबाब बढेको संकेत गर्छ।

कम्पनीको मुख्य उत्पादन ‘सभा राइस’ हो। यसबाहेक भुस, ढुटो र टुक्रा चामलजस्ता उप–उत्पादनहरू पनि बिक्री गर्दै आएको छ। उद्योग तराई क्षेत्र रूपन्देहीमा सञ्चालनमा रहेकाले धान संकलनमा भौगोलिक सहजता प्राप्त भएको कम्पनीले जनाएको छ। उत्पादनहरू रूपन्देहीस्थित उद्योगबाटै काठमाडौं, पोखरा, बुटवललगायत मुख्य बजारमा सिधै वितरण हुँदै आएका छन्।

कम्पनीका लागि सबैभन्दा ठूलो चुनौती कार्यगत चक्र लम्बिनु बनेको छ। आर्थिक वर्ष २०२५ मा सामान खरिददेखि बिक्री रकम उठाउन लाग्ने समय १,३४५ दिन पुगेको छ। धानजस्तो मौसमी वस्तुको भण्डारण र बजारमा उधारो बिक्री गर्नुपर्ने अवस्थाले नगद प्रवाहमा दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ।

यद्यपि, उद्योग सुधारका लागि नयाँ व्यवस्थापन टोली अघि आएको छ। १७ वर्षभन्दा बढी अनुभव भएका शशांक अग्रवालको नेतृत्वमा आएको व्यवस्थापनले आगामी आर्थिक वर्ष २०२६ भित्र १५ करोड रुपैयाँ थप पुँजी लगानी गर्ने योजना बनाएको छ। यसबाट बैंक ऋणको भार घटाउने र उद्योग सञ्चालनलाई पुनः गतिशील बनाउने अपेक्षा गरिएको छ।