काठमाडौं । Benelli Nepal को आधिकारिक वितरक Vaidya Group ले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले एसईई दिएका विद्यार्थीहरूदेखि दैनिक प्रयोगकर्तासम्मलाई लक्षित गर्दै छुट तथा निःशुल्क सेवासहितको योजना ल्याएको जनाएको छ।
योजना अन्तर्गत ग्राहकहरूले बेनेलीका लोकप्रिय दुई पाङ्ग्रे सवारी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार पानारिया १२५ स्कुटर अब २ लाख ५९ हजार ९०० रुपैयाँमा तथा बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा उपलब्ध हुनेछ।
कम्पनीले ग्राहकलाई बिक्रीपछिको सेवामा पनि विशेष सुविधा दिएको छ। ग्राहकहरूले २ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउनेछन्। यस अवधिमा लेबर चार्ज, ल्युब, इन्जिन आयल, आयल फिल्टर तथा फ्युल फिल्टरसमेत कम्पनीले निःशुल्क उपलब्ध गराउने जनाएको छ।
त्यसैगरी, ५ वर्षसम्म स्पेयर पार्ट्समा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यो योजना सीमित अवधिका लागि देशभर रहेका बेनेलीका शोरुमहरूमा लागू हुने बताइएको छ।
कम्पनीका अनुसार यो नेपालमा बेनेलीले ल्याएको सबैभन्दा आकर्षक तथा ग्राहकमैत्री योजनामध्ये एक हो। विशेषगरी युवा पुस्तालाई गुणस्तरीय इटालियन ब्रान्ड सहज मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित योजना ल्याइएको कम्पनीको भनाइ छ।
बेनेली नेपालका ब्राण्ड स्ट्राटेजिस्ट Prashant Khatri ले एसईई दिएका विद्यार्थी र युवा पुस्तालाई ध्यानमा राख्दै योजना ल्याइएको बताए। उनका अनुसार आधुनिक प्रविधि, आकर्षक डिजाइन र सहज मूल्यका कारण बेनेलीप्रति नेपाली ग्राहकको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ।
