सीमामा नियन्त्रण सफल

सिरहा । सशस्त्र प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रबाट करिब १९ लाख ४७ हजार रुपैयाँ बराबरको सामान र एक ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी नं. ७ गण सिरहाबाट खटिएको गस्ती टोलीले गएराति सिरहाका ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादवलाई नियन्त्रणमा लिएको हो।

स १ ख ५३५ नम्बरको ट्रकमा लोड गरी नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको अवस्थामा विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामानमा कस्मेटिक सामग्री, टुथपेस्ट तथा २६० किलो ओखर रहेको छ। नियन्त्रणमा लिइएका दुवै जना चालक र सहचालक रहेको पनि प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ भने बरामद सामान भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।