चिनी आपूर्तिमा आश्वस्तता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारले चिनी निर्यातसम्बन्धी नीतिमा परिवर्तन गरी निर्यातमा प्रतिबन्ध लगाएको विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले यस परिस्थितिमा आम उपभोक्ताको हित, बजार मूल्यको स्थिरता तथा चिनीको सहज उपलब्धतालाई प्राथमिकतामा राखेर आवश्यक व्यवस्थापन भइरहेको जनाएको छ।

नेपाल चिनी उत्पादक संघका पदाधिकारी तथा सरोकारवाला निकायसँग भएको छलफलमा उद्योगीहरूले बजारमा चिनीको नियमित आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।

मन्त्रालयका अनुसार नेपालमा सञ्चालनमा रहेका चिनी उद्योगहरूबाट उत्पादन भएको मौज्दात तथा हालसम्म आयात गरिएको चिनीसमेत गरी करिब ८ महिनाको माग पूरा हुने पर्याप्त स्टक उपलब्ध रहेको छ।

त्यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत पनि चिनी आपूर्तिमा सहजता कायम रहने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बजार अनुगमन, आपूर्ति व्यवस्थापन तथा सरोकारवाला निकायबीच समन्वयलाई अझ प्रभावकारी बनाउँदै कृत्रिम अभाव, कालोबजारी, अनुचित सञ्चिति तथा अस्वाभाविक मूल्यवृद्धि रोक्न कडाइका साथ अनुगमन गर्ने जनाएको छ।

दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भरता हासिल गर्न आन्तरिक उत्पादन वृद्धि र उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउनेतर्फ सरकार सक्रिय रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले उपभोक्तालाई अनावश्यक सञ्चिति नगर्न र बजार आपूर्तिबारे कुनै अन्योलमा नपर्न आग्रह गरेको छ।