बजेट कार्यान्वयनमा सुधारको अपेक्षा

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनाको अवधिमा कुल बजेटको करिब ३६ प्रतिशत मात्र खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष सकिन अब दुई महिना मात्र बाँकी रहँदा अझै ६३.७१ प्रतिशत बजेट खर्च गर्न बाँकी रहेको देखिएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ३६ अर्ब २ करोड २ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो। वैशाख मसान्तसम्मको विवरणअनुसार हालसम्म १३ अर्ब ७ करोड १० लाख ११ हजार १२१ रुपैयाँ मात्र खर्च भएको छ। बाँकी जेठ र असार महिनामा लक्ष्य पूरा गर्नका लागि २२ अर्ब ९४ करोड ९१ लाख ८८ हजार ८७८ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको छ।

प्रदेशको विकाससँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने अझ सुस्त देखिएको छ। १७ अर्ब १४ करोड २९ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको पुँजीगत बजेटमध्ये १० महिनामा मात्र ५ अर्ब २९ करोड ८६ लाख ८९ हजार ३६९ रुपैयाँ खर्च भएको छ। बाँकी दुई महिनामा मात्र ११ अर्ब ९१ करोडभन्दा बढी खर्च गर्नुपर्ने दबाब देखिएको छ।

चालु खर्चतर्फ भने केही सुधार देखिएको छ। १८ अर्ब ७७ करोड ७२ लाख २० हजार रुपैयाँको चालु बजेटमध्ये हालसम्म ७ अर्ब ७२ करोड ६८ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ, जुन करिब ४१ प्रतिशत हो।

मन्त्रालयगत विवरणअनुसार सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले १० महिनामा ३ अर्ब २४ करोड रुपैयाँ मात्र खर्च गरेको छ, अझै ७ अर्ब १८ करोड रुपैयाँ बाँकी छ।

त्यसैगरी खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको ४ अर्ब ६० करोड ७४ लाख रुपैयाँ बजेटमध्ये २ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खर्च हुन बाँकी छ। स्वास्थ्य मन्त्रालयको ३ अर्ब ६५ करोड रुपैयाँ बजेटमध्ये अझै २ अर्ब ८ करोड २६ लाख रुपैयाँ खर्च बाँकी रहेको छ।

खर्च सुस्त भए पनि राजस्व सङ्कलनमा भने केही प्रगति देखिएको छ। वैशाख मसान्तसम्म प्रदेशले विभिन्न शीर्षकबाट २५ अर्ब ५ करोड ९६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ, जसमा आन्तरिक राजस्व, राजस्व बाँडफाँड तथा संघीय अनुदान समावेश रहेको छ।