मौद्रिक स्थायित्व कायम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामार्फत लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको छ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको समीक्षामा विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुसार नै रहने प्रक्षेपणका आधारमा न्यून आर्थिक वृद्धिको अवस्थालाई ध्यानमा राख्दै सुरुदेखि अपनाइएको लचिलो नीतिलाई यथावत राखिएको उल्लेख गरेको छ।

समीक्षामा बैंकदर, ब्याजदर करिडोर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत राखिएको छ। साथै ब्याजदर करिडोरलाई अझ प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्थामा पुनरावलोकन गरिने पनि जनाइएको छ।

राष्ट्र बैंकले आर्थिक गतिविधि क्रमशः सुधारतर्फ उन्मुख रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर करिब ४.६५ प्रतिशत पुग्ने अनुमान गरेको छ। जलविद्युत्, पर्यटन र सूचना प्रविधि क्षेत्रको विस्तारले आर्थिक गतिविधिमा सुधार आएको बताइएको छ।

त्यसैगरी विप्रेषण आप्रवाह वृद्धि र विदेशी मुद्रा सञ्चिति सुदृढ भए पनि विश्वव्यापी भू–राजनीतिक तनावले पेट्रोलियम मूल्य र श्रम आप्रवाहमा जोखिम निम्त्याउन सक्ने चेतावनी पनि दिइएको छ।

समीक्षा अवधिमा औसत उपभोक्ता मुद्रास्फीति ३.२९ प्रतिशतमा सीमित रहेकाले मूल्यवृद्धि नियन्त्रणमै रहेको राष्ट्र बैंकको भनाइ छ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहे पनि निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसकेको स्वीकार गरिएको छ। तर मौद्रिक नीतिका मुख्य दरहरूमा कुनै परिवर्तन नगरी स्थायित्वलाई प्राथमिकता दिइएको छ।

विश्लेषकहरूका अनुसार यसपटकको समीक्षा ‘पर्ख र हेर’ शैलीमा आएको देखिन्छ, जसले अर्थतन्त्रलाई स्थायित्वतर्फ लैजाने संकेत गरेको छ।