डिजिटल लगानी सहज

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो प्रमुख मोबाइल बैंकिङ एप ‘एनबैंक’मार्फत उन्नत लगानी सेवा थप गर्दै डिजिटल लगानीलाई विस्तार गरेको छ।

बैंकले लगानीलाई सहज, सुरक्षित र पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यसहित नयाँ सुविधा सञ्चालनमा ल्याएको हो। यस सेवामार्फत ग्राहकहरूले आफ्नो मोबाइलबाटै सहज रूपमा वित्तीय लगानी व्यवस्थापन गर्न सक्नेछन्।

यस सेवा कार्यान्वयन नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच गत वैशाख ३१ गते (मे १४) मा भएको रणनीतिक साझेदारी सम्झौतापछि सुरु गरिएको हो। सम्झौतामा नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए।

नयाँ प्रणालीमार्फत ग्राहकहरूले सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) मा सजिलै दर्ता भई किस्ताबन्दी भुक्तानी पनि ‘एनबैंक’ एपबाटै गर्न सक्नेछन्। यसले नेपालमा लगानीका लागि आवश्यक कागजी प्रक्रिया र झन्झटलाई हटाएको बैंकले जनाएको छ।

सेवा प्रयोग गर्न एनबैंक प्रयोगकर्ताले एप खोली होमपेजमा रहेको ‘इन्भेस्टमेन्ट, एसआईपी, टिएमएस’ आइकनमा क्लिक गरी दर्ता वा किस्ता भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन्। बैंकले यस सेवामा कुनै अतिरिक्त शुल्क नलाग्ने स्पष्ट पारेको छ।

डेपुटी सीईओ आदर्श बजगाईंले यो सेवा युवा तथा प्रविधिमैत्री ग्राहकलाई लक्षित गरी सुरु गरिएको बताउँदै सरल र पूर्ण डिजिटल लगानी प्रणाली विकास गर्ने लक्ष्य रहेको उल्लेख गरेका छन्।

बैंकका अनुसार यो सेवा विदेशमा रहेका नेपाली तथा रेमिट्यान्स प्राप्तकर्ताका लागि पनि उपयोगी हुनेछ। यसले उनीहरूलाई नेपालको पुँजी बजारसँग जोडिन सहज बनाउने अपेक्षा गरिएको छ।

चार दशकभन्दा बढी समयदेखि बैंकिङ सेवा दिँदै आएको नबिल बैंकले हाल देशभर २६६ शाखा र ३१८ एटीएममार्फत करिब २५ लाख ग्राहकलाई सेवा दिँदै आएको छ।