कृषिमा विदेशी लगानीको हरियाली

काठमाडौं । नेपालको अर्थतन्त्रमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) को बहस भइरहँदा चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्मको तथ्यांकले नयाँ संकेत दिएको छ । यस अवधिमा कृषि क्षेत्र विदेशी लगानी आकर्षित गर्ने प्रमुख क्षेत्रका रूपमा उदाएको छ ।

उद्योग विभागका अनुसार १० महिनाको अवधिमा नेपालले कुल ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ । यो लगानी ७२८ वटा परियोजनामार्फत भित्रिने जनाइएको छ ।

वैशाख महिनामा मात्रै ३ अर्ब ५२ करोड ३० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । सो अवधिमा ११३ वटा नयाँ उद्योगले सञ्चालन अनुमति पाएका छन् । यसले नेपाली बजारप्रति विदेशी लगानीकर्ताको विश्वास कायम रहेको संकेत गरेको छ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै लगानी कृषि तथा वन पैदावारमा आधारित क्षेत्रमा आएको छ । कुल लगानी प्रतिबद्धतामध्ये २२ अर्ब ८ करोड रुपैयाँ अर्थात् ४९ प्रतिशत हिस्सा कृषि क्षेत्रमा केन्द्रित भएको हो । कृषि प्रधान देश नेपालमा स्वदेशी उत्पादन बढाउने सम्भावना यसले थप बलियो बनाएको विश्लेषण गरिएको छ ।

कृषिपछि दोस्रो स्थानमा पर्यटन क्षेत्र रहेको छ । पर्यटन क्षेत्रमा १२ अर्ब ५४ करोड रुपैयाँ अर्थात् २८ प्रतिशत लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

संख्यात्मक हिसाबले भने सूचना प्रविधि क्षेत्र सबैभन्दा अगाडि देखिएको छ । कुल ७२८ परियोजनामध्ये ४२१ वटा परियोजना सूचना प्रविधिसँग सम्बन्धित छन् । यो कुल परियोजनाको ५८ प्रतिशत हो । तर लगानी रकमको हिसाबले भने सूचना प्रविधि क्षेत्रमा जम्मा १ अर्ब ७४ करोड रुपैयाँ अर्थात् ४ प्रतिशत मात्रै प्रतिबद्धता आएको छ । यसले विदेशी लगानीकर्ता नेपालमा साना स्तरका सफ्टवेयर र आईटी सेवामा आकर्षित भए पनि ठूलो लगानी गर्न अझै सतर्क रहेको देखाउँछ ।

सरकारले लागू गरेको ‘अटोमेटिक रुट’ अर्थात् स्वचालित मार्ग पनि प्रभावकारी देखिएको छ । वैशाख महिनामा स्वीकृत ११३ परियोजनामध्ये १०७ वटा परियोजना स्वचालित मार्गमार्फत स्वीकृत भएका हुन् । यसले प्रशासनिक झन्झट घटाउँदा लगानीकर्तालाई सहज हुने संकेत गरेको छ ।

यी सबै परियोजना पूर्ण रूपमा सञ्चालनमा आएमा २३ हजार ५३० जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको अनुमान छ । वैशाख महिनाको मात्रै परियोजनाबाट ९४८ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ ।

यद्यपि, लगानीसँगै लाभांश र रोयल्टीका नाममा बाहिरिने रकम पनि तीव्र रूपमा बढेको देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा मात्रै १७ अर्ब ७९ करोड ५३ लाख रुपैयाँ लाभांशका रूपमा बाहिरिएको छ । गत वर्षको सोही अवधिमा यो रकम ९ अर्ब ४९ करोड रुपैयाँ थियो ।

त्यस्तै, रोयल्टीबापत ५ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो रकम १ अर्ब ५१ करोड रुपैयाँ मात्रै थियो । यसले लगानी भित्रिएसँगै आम्दानी बाहिरिने क्रम पनि बढिरहेको देखाएको छ ।

वैशाख महिनामा स्वीकृत उद्योगमध्ये ११२ वटा साना र एउटा मात्रै ठूलो उद्योग रहेको विभागको तथ्यांकले देखाएको छ । त्यसैले अब उत्पादनमूलक र ठूला उद्योगमा विदेशी लगानी आकर्षित गर्नु सरकारका लागि मुख्य चुनौती बनेको छ ।