सुन कर्जामा सरकारी बैंक चम्किए

काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले सुन–चाँदी धितोमा प्रवाह गर्ने कर्जामा सरकारी स्वामित्वका बैंकहरूको स्पष्ट वर्चस्व देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८२ चैत मसान्तसम्मको मासिक प्रतिवेदनअनुसार नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक यस क्षेत्रमा सबैभन्दा अगाडि रहेका छन् ।

प्रतिवेदनअनुसार देशभर सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थामध्ये २८ वटाले मात्रै सुन–चाँदी धितोमा कर्जा प्रवाह गरेका छन् । बाँकी २६ संस्थाले भने यस शीर्षकमा कुनै लगानी गरेका छैनन् ।

हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले सुन–चाँदी धितोमा कुल १ खर्ब १४ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।

तथ्यांकअनुसार नेपाल बैंक लिमिटेडले सबैभन्दा धेरै ५० अर्ब ९० करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ३६ अर्ब ७९ करोड १० लाख रुपैयाँ लगानी गरेको छ । यी दुई सरकारी बैंकले मात्रै कुल सुन–चाँदी कर्जाको झन्डै ७६ प्रतिशत हिस्सा ओगटेका छन् ।

निजी क्षेत्रका वाणिज्य बैंकहरूमध्ये प्राइम कमर्सियल बैंक ९ अर्ब ५५ करोड ६३ लाख रुपैयाँसहित तेस्रो स्थानमा रहेको छ । त्यसपछि नबिल बैंकले ३ अर्ब ३१ करोड ४१ लाख रुपैयाँ तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब १८ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यसपटकको तथ्यांकमा विकास बैंकहरूको उपस्थिति विशेष रूपमा उल्लेखनीय देखिएको छ । कतिपय ठूला वाणिज्य बैंकलाई पछि पार्दै विकास बैंकहरूले सुन–चाँदी कर्जामा आक्रामक विस्तार गरेका छन् ।

गरिमा विकास बैंकले १ अर्ब ५४ करोड ४० लाख रुपैयाँ, कामना सेवा विकास बैंकले १ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंकले १ अर्ब ३६ करोड २६ लाख रुपैयाँ सुन–चाँदी धितोमा कर्जा प्रवाह गरेका छन् ।

यी विकास बैंकहरूको लगानी लक्ष्मी सनराइज बैंक, सिटिजन बैंक, एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, कुमारी बैंक, प्रभु बैंक तथा कृषि विकास बैंकजस्ता स्थापित वाणिज्य बैंकहरूको तुलनामा पनि बढी रहेको देखिएको छ ।

अन्य विकास बैंकहरूमध्ये ज्योति विकास बैंक, एक्सेल विकास बैंक, सप्तकोशी विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र साल्पा विकास बैंकले पनि उल्लेखनीय कर्जा प्रवाह गरेका छन् ।

फाइनान्स कम्पनीतर्फ भने दुईवटा संस्था मात्रै सक्रिय देखिएका छन् । गुडविल फाइनान्सले ८२ करोड १ लाख रुपैयाँ सुन–चाँदी धितोमा लगानी गरेको छ भने गोर्खा फाइनान्सले ५ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।