ह्विस्कीमा नेपालको अन्तर्राष्ट्रिय चमक

काठमाडौँ । नेपाली मदिरा उद्योगका लागि गौरवपूर्ण उपलब्धि हासिल गर्दै ‘द हिमालयन रिजर्भ’ ले प्रतिष्ठित टोकियो ह्विस्की एन्ड स्पिरिट्स कम्पिटिसन २०२६ मा कास्य पदक जित्न सफल भएको छ । यस सफलतासँगै नेपाली ब्रान्डले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ ।

गत वर्ष बेल्जियमको ब्रसेल्समा आयोजित ‘मोन्ड सेलेक्सन’ मा स्वर्ण पदक जितेको द हिमालयन रिजर्भले यसपटक जापानमा भएको उच्चस्तरीय प्रतिस्पर्धामा कास्य पदक प्राप्त गरेको हो । यो उपलब्धिले नेपाली स्पिरिट्स उद्योगको गुणस्तर र क्षमता विश्वस्तरमा पुनः प्रमाणित गरेको छ ।

टोकियो ह्विस्की एन्ड स्पिरिट्स कम्पिटिसन (टीडब्लुएससी) एसियाकै सबैभन्दा प्रतिष्ठित र प्रतिस्पर्धात्मक प्रतियोगितामध्ये एक मानिन्छ । यहाँ जापानी विशेषज्ञहरूले ‘ब्लाइन्ड टेस्टिङ’ विधिबाट उत्कृष्ट ह्विस्की र स्पिरिट्स छनोट गर्छन् । विश्वका चर्चित डिस्टिलरीहरूसँगको प्रतिस्पर्धाबीच द हिमालयन रिजर्भले आफ्नो विशिष्ट स्वाद र शिल्पकौशलका कारण स्थान बनाउन सफल भएको हो ।

यो उपलब्धि उत्पादक कम्पनी ‘प्रिमियर डिस्टिलरी लिमिटेड’ का लागि पनि महत्वपूर्ण मानिएको छ । कम्पनीले ओल्ड मंक एण्ड इयर्स ओल्ड रम, ओल्ड मंक लेजेन्ड रम र ब्याक स्टालियन जस्ता लोकप्रिय ब्रान्डहरू उत्पादन गर्दै आएको छ ।

उद्योग क्षेत्रका अनुसार यो सफलता केवल एउटा उत्पादनको मात्र होइन, बरु नेपाली ह्विस्की र स्पिरिट्स उद्योग विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम छ भन्ने प्रमाण हो ।

विश्लेषकहरूका अनुसार द हिमालयन रिजर्भले प्राप्त गरेको यो कास्य पदकले नेपाली मदिरा उद्योगमा नयाँ सम्भावना र अन्तर्राष्ट्रिय पहिचानको ढोका खोलिदिएको छ । यसलाई उद्योगका लागि “नयाँ उचाइ” को संकेतका रूपमा पनि हेरिएको छ ।