काठमाडौं । प्रकृति तथा पर्यावरण संरक्षणमा लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदरस्वरूप विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ ।
कोषको ३३औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेपाली सेनालाई यो सम्मान प्रदान गरिएको हो । सेनाले दशकौँदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा निर्वाह गर्दै आएको भूमिकालाई आधार मान्दै सम्मान गरिएको जनाएको छ ।
यसअघि सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ मा शून्य सिकार वर्ष सफलतापूर्वक कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेलेका कारण सेनाका विभिन्न छ वटा युनिट ‘अब्राहम कन्जर्भेसन अवार्ड’बाट सम्मानित भइसकेका छन् । साथै बर्दिया राष्ट्रिय निकुञ्जले यसअघि ‘डबल टाइगर अवार्ड’ समेत प्राप्त गरिसकेको छ ।
विसं २०३२ सालदेखि नेपाली सेना राष्ट्रिय निकुञ्जहरूको सुरक्षामा औपचारिक रूपमा खटिँदै आएको छ । हाल सेनाका आठ गण, सात अनाश्रित गुल्म र एक प्रकृति संरक्षण शिक्षालयमार्फत १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको सुरक्षा तथा संरक्षण भइरहेको छ ।
करिब एक हजारभन्दा बढी सुरक्षाकर्मी निरन्तर रूपमा संरक्षण कार्यमा परिचालित छन् ।
यस संरक्षण अभियानको परिणामस्वरूप वन्यजन्तुको संख्या उल्लेखनीय रूपमा बढेको देखिएको छ । सन् २००९ मा १२१ वटा मात्र रहेको पाटे बाघको संख्या हाल ३५५ पुगेको छ भने सन् २००५ मा ४०० रहेको एकसिंगे गैँडाको संख्या बढेर ७५२ पुगेको तथ्यांकमा उल्लेख छ ।
वन्यजन्तु संरक्षणमा हासिल गरिएको यो उपलब्धिले नेपाललाई जैविक विविधता संरक्षणमा अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय बनाएको सरोकारवालाहरूले बताएका छन् ।
