अदालतको आदेशपछि महासंघ निर्वाचनको बाटो खुला, को-को छन् मैदानमा ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया रोक्न माग गर्दै दायर गरिएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि महासंघको आगामी नेतृत्व चयनको बाटो खुलेको छ । अदालतको पछिल्लो आदेशसँगै अब जेठ ८ गते शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढ्ने निश्चित भएको हो ।

महासंघको नेतृत्व चयनलाई लिएर केही दिनयता व्यावसायिक वृत्तमा चासो र चर्चा तीव्र बनेका बेला अदालतको निर्णयले निर्वाचन प्रक्रियालाई वैधानिक स्पष्टता दिएको महासंघभित्रका व्यवसायीहरूले बताएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र दीपक खनालको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै प्रक्रिया नरोक्ने संकेत दिएपछि अब महासंघको नयाँ नेतृत्व चयनतर्फ सबैको ध्यान केन्द्रित भएको छ ।

यसअघि हेमराज ढकाल, किशोर प्रधान, नरेन्द्र खड्का र प्रल्हाद दाहालले महासंघको वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष चयन प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए । अदालतले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर बिहीबारको अन्तिम सुनुवाइमा अदालतले अन्तरिम आदेश आवश्यक नरहेको ठहर गरेपछि महासंघभित्रको चुनावी गतिविधि झन् तीव्र बनेको छ ।

आज बिहान ९ बजे महासंघको केन्द्रीय कार्यसमिति बैठक बस्नेछ । वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि मनोनयन दर्ता प्रक्रिया पनि अघि बढाइने तयारी गरिएको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष कार्यसमितिबाट चयन हुने व्यवस्था छ ।

वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, हेमराज ढकाल, भरतराज आचार्य, रामचन्द्र सांघाई र किशोर प्रधान आकांक्षीका रूपमा देखिएका छन् ।

व्यावसायिक क्षेत्रको जटिल अवस्था, आर्थिक मन्दी, बैंक ब्याजदरको दबाब, निर्माण व्यवसायदेखि उद्योग क्षेत्रसम्म देखिएको सुस्तता र निजी क्षेत्रमाथि बढ्दो चुनौतीका बीच महासंघलाई अब अनुभवी, समन्वयकारी र निर्णायक नेतृत्व आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ ।

महासंघको ६०औँ साधारणसभा तथा निर्वाचन यसअघि वैशाख २१ र २२ गते सम्पन्न भइसकेको थियो । अब वरिष्ठ उपाध्यक्ष चयनलाई महासंघको भावी नेतृत्वको आधारका रूपमा समेत हेरिएको छ ।

कोषाध्यक्ष पदमा अम्बिका प्रसाद पौडेल, मनिषलाल प्रधान र भक्त हमालको चर्चा चलिरहेको छ । अदालतको निर्णयपछि अब निर्वाचन प्रक्रिया रोक्ने सबै अन्योल समाप्त भएको र महासंघले नयाँ नेतृत्वमार्फत निजी क्षेत्रको मनोबल उकास्ने अपेक्षा व्यवसायीहरूले गरेका छन् ।