सोलुखुम्बु । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गरेका छन् । उनले जेठ ९ गते बिहान ७ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उपलब्धि हासिल गरेका हुन् ।
सिन्धुपाल्चोकको दुर्गम भोटाङ गाउँमा जन्मिएका वाइबा पछिल्लो समय हिमाल, चलचित्र र दृश्य कथामार्फत हिमाली जीवनलाई विश्वसामु चिनाउने युवाका रूपमा चिनिएका छन् ।
उनले आफ्नो तेस्रो सगरमाथा आरोहणलाई केवल शिखर चुम्ने यात्रामात्र नभई संघर्ष, त्याग, धैर्य, कृतज्ञता र आत्मविश्वासको प्रतीक भएको बताए ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वाइबाले सगरमाथा, मनास्लु र शिशापाङ्मा जस्ता आठ हजार मिटरभन्दा अग्ला हिमालहरूले आफूलाई शक्ति, विनम्रता र जीवनका गहिरा पाठ सिकाएको उल्लेख गरेका छन् ।
‘हरेक सफल आरोहणको पछाडि मौन संघर्ष, खराब मौसम, जोखिमपूर्ण यात्रा, प्रार्थना र टिमको साथ हुन्छ,’ उनले उल्लेख गरेका छन् ।
वाइबाले आफ्नो सफलताका लागि ‘इम्याजिन नेपाल’ टोली तथा चर्चित पर्वतारोही मिङ्माजी शेर्पाप्रति विशेष आभार व्यक्त गरे । उनका अनुसार मिङ्माजीको नेतृत्व, विश्वास र सहयोगबिना यो यात्रा सम्भव हुने थिएन ।
मिङ्माजी शेर्पा नेपालका चर्चित उच्च हिमाली गाइड तथा ‘इम्याजिन नेपाल’का संस्थापक हुन् । उनले सन् २०२१ मा नेपाली टोलीसँगै के–टुको पहिलो हिउँदे आरोहणसहित विभिन्न अन्तर्राष्ट्रिय कीर्तिमानी अभियानको नेतृत्व गरिसकेका छन् ।
पर्वतारोहणसँगै सेन्साई पेमा वाइबा फिल्म निर्माण, फोटोग्राफी तथा ड्रोन सिनेमेटोग्राफीमा पनि सक्रिय छन् । उनले चार सयभन्दा बढी म्यूजिक भिडियो, डकुमेन्ट्री तथा नेपाली चलचित्रमा काम गरिसकेका छन् । ‘श्यालगर’, ‘सेम्की टाम’, ‘बेह्युल’ र ‘पिपलु छायाँ’ उनका चर्चित सिर्जनामध्ये पर्दछन् ।
सन् २०२२ देखि औपचारिक रूपमा पर्वतारोहणमा सक्रिय वाइबाले यसअघि सगरमाथा दुई पटक, मनास्लु र शिशापाङ्मा हिमाल सफल आरोहण गरिसकेका छन् । उनी अक्सिजनसहित उच्च हिमाली अभियानमा सक्रिय रहँदै आएका छन् ।
वाइबा काठमाडौं लायन्स क्लबका बोर्ड सदस्यसमेत हुन् । सामाजिक सेवा, युवा प्रेरणा र हिमाली संस्कृतिको संरक्षणमा पनि उनी सक्रिय रूपमा संलग्न छन् ।
हिमाललाई केवल साहसिक गन्तव्य नभई संस्कृति, पहिचान र आध्यात्मिकताको प्रतीकका रूपमा प्रस्तुत गर्दै आएका वाइबा नयाँ पुस्ताका हिमाली कथाकारका रूपमा स्थापित हुँदै गएका छन् ।