क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

काठमाडौँ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सर्वोच्च संस्था कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को कार्यवाहक अध्यक्षको रूपमा चिरञ्जीवी अधिकारी ले आधिकारिक रूपमा कार्यभार सम्हालेका छन्। नेपाली प्रविधि क्षेत्र तीव्र डिजिटल रूपान्तरण, नीतिगत सुधार र नवप्रवर्तनको अपेक्षामा रहेका बेला उहाँको नेतृत्वलाई आईटी वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

नयाँ जिम्मेवारी सम्हाल्दै कार्यवाहक अध्यक्ष अधिकारीले आफूले यो अवसरलाई जिम्मेवारीबोध र स्पष्ट दूरदृष्टिका साथ लिएको बताएका छन्। उनले नेपालको सूचना प्रविधि इकोसिस्टमलाई नयाँ उचाइमा पुर्‍याउने, स्वदेशी प्रविधि उद्योगलाई मजबुद बनाउने तथा युवाकेन्द्रित डिजिटल अर्थतन्त्र निर्माणका लागि क्यान महासंघ दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“हाम्रो यात्रा आजैबाट सुरु भएको छ। आउनुहोस्, सम्पूर्ण सरोकारवालाहरू हातेमालो गरौँ र नेपाललाई प्रविधिको क्षेत्रमा एक ग्लोबल डिजिटल पावरहाउस बनाऔँ,” कार्यवाहक अध्यक्ष अधिकारीले बताएका छन्।

डिजिटल रूपान्तरणका लागि ५ मुख्य एजेण्डा

नेपाली आईटी क्षेत्रले लामो समयदेखि भोग्दै आएका नीतिगत, संरचनागत तथा व्यावसायिक चुनौतीहरू समाधान गर्दै स्वदेशी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित क्यान महासंघले पाँच प्रमुख एजेण्डालाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

१. आईटी क्षेत्रलाई उद्योगको मान्यता र एआई सुशासन

महासंघले सूचना प्रविधि क्षेत्रलाई राज्यबाट औपचारिक रूपमा ‘उद्योग’ को मान्यता दिलाउन पहल तीव्र बनाउने जनाएको छ। नेपालमा हजारौँ युवालाई रोजगारी दिइरहेको आईटी क्षेत्र अझै स्पष्ट औद्योगिक संरचनाभित्र नसमेटिएको अवस्थामा यसको दीर्घकालीन विकासका लागि उद्योगको मान्यता अत्यावश्यक रहेको महासंघको धारणा छ।

यससँगै, कृत्रिम बुद्धिमत्ता (AI) को बढ्दो प्रयोगलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन नेपालमा समयसापेक्ष ‘एआई सुशासन नीति’ आवश्यक रहेकोमा पनि जोड दिइएको छ।

२. स्वदेशी सफ्टवेयरलाई पहिलो प्राथमिकता

महासंघले नेपालमै विकसित सफ्टवेयर, एप्लिकेसन तथा डिजिटल प्रणालीहरूलाई सरकारी तथा निजी क्षेत्रमा पहिलो प्राथमिकता दिने नीतिगत व्यवस्था आवश्यक रहेको बताएको छ। स्वदेशी प्रविधिको प्रयोगले देशभित्रै सीप, रोजगारी र पूँजीको संरक्षण हुने विश्वास महासंघको छ।

३. स्टार्टअप इकोसिस्टमको प्रवर्द्धन

प्रविधिमा आधारित युवा उद्यमशीलतालाई सशक्त बनाउन क्यान महासंघले स्टार्टअपमैत्री वातावरण निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने जनाएको छ। नवप्रवर्तनकारी सोच भएका युवाहरूलाई लगानी, मेंटरशिप र बजार विस्तारमा सहज पहुँच उपलब्ध गराउन महासंघ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

४. सरकार ‘खरिदकर्ता’ बनोस्, प्रतिस्पर्धी होइन

महासंघले सरकार स्वयं सफ्टवेयर विकासमा प्रतिस्पर्धी बन्नुभन्दा निजी क्षेत्रबाट प्रविधि सेवा खरिद गर्ने भूमिकामा केन्द्रित हुनुपर्ने धारणा अघि सारेको छ। सरकारी निकाय आफैं सफ्टवेयर निर्माणमा लाग्दा निजी क्षेत्रको विकास र स्वस्थ प्रतिस्पर्धामा असर पर्ने भएकाले सरकारले निजी क्षेत्रमाथि विश्वास गरेर सहकार्यको वातावरण निर्माण गर्नुपर्ने महासंघको भनाइ छ।

५. आईटी छाता ऐन, कर छुट र डिजिटल भुक्तानी

सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित छरिएका तथा पुराना कानुनी व्यवस्थालाई एकीकृत गर्दै आधुनिक ‘आईटी अम्ब्रेला एक्ट’ ल्याउन महासंघले पहल गर्ने जनाएको छ। साथै, अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउने, विदेशी बजारमा नेपाली आईटी कम्पनीको पहुँच विस्तार गर्ने तथा आईटी उद्योगका लागि विशेष कर छुटको व्यवस्था गर्न सरकारसँग बलियो पैरवी गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।