साताको पहिलो कारोबार दिन आज सोमबार शेयर कारोबरा मापक नेप्से परिसूचक ठूलो अंकले घटेर २५१३.४२ विन्दुमा झरेको छ।
नेप्से ४३.८९ अंकले घटेको हो भने अघिल्लो दिनको तुलनामा १.७१ प्रतिशतले बजार परिसुचक घटेको स्टक एक्सचेञ्जले जनाएको छ ।
कूल ३४७ कम्पनीको ६८ हजार १३७ कारोबारबाट ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार ८७८ रुपैयाँ बराबरका ९३ लाख २२ हजार १८५ कित्ता शेयर किनबेच भए ।
गत बुधबार गएको भीषण बाढीपछि बजारमा लगातारजसो केहि समुहमा उच्च दबाब परिरहेको छ । यस्तो दबाब पर्ने क्रम आज पनि जारी रह्यो ।
निर्जीवन बीमा सबैभन्दा धेरै ५.०३ प्रतिशत घट्यो । त्यस्तै अन्य समूह ३.३० र जलविद्युत् समूह २.९४ प्रतिशत घटे । बाढीपछि यी तीन समूह नै बजारमा अत्याधिक दबाबमा परिरहेका छन् ।
बाढीका कारण एक दर्जन बढी जलविद्युत् आयोजना अत्याधिक प्रभावित भएका छन् ।
त्यस्तै सवारीसाधन, घर, जलविद्युत् आयोजनाको बीमा रकम भुक्तानी गर्नुपर्ने भएपछि निर्जीवन बीमा र अन्य समूह बढी प्रभावित भएका हुन् । अन्य समूहमा नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनी पनि पर्दछन् ।
