काठमाडौँ । चिनियाँ विद्युतीय सवारी निर्माता BYD ले सोलिड-स्टेट ब्याट्री प्रविधिमा नयाँ उपलब्धि हासिल गर्दै अत्याधुनिक संरचनासहितको नयाँ पेटेन्ट दर्ता गराएको छ। चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासनमा दर्ता गरिएको उक्त प्रविधि ‘कम्पोजिट सोलिड इलेक्ट्रोलाइट मेम्ब्रेन’ र त्यसको निर्माण विधिसँग सम्बन्धित रहेको चिनियाँ सञ्चारमाध्यम सिनाले जनाएको छ।
बीवाईडीको यो कदम चीनभर सोलिड-स्टेट ब्याट्री विकासको प्रतिस्पर्धा तीव्र भइरहेका बेला सार्वजनिक भएको हो। हाल चीनका अधिकांश ब्याट्री कम्पनीहरू सल्फाइडमा आधारित सोलिड-स्टेट ब्याट्री प्रविधिमा केन्द्रित छन्।
पेटेन्ट विवरणअनुसार नयाँ संरचनामा साना तथा ठूला इनअर्गानिक सोलिड इलेक्ट्रोलाइट कणहरूलाई पोलिमर इलेक्ट्रोलाइट फाइबर नेटवर्कसँग संयोजन गरिएको छ। यसले ब्याट्रीभित्र प्रयोग हुने इलेक्ट्रोलाइट मेम्ब्रेनको आयोनिक चालकता बढाउनुका साथै यसको मेकानिकल मजबुतीमा समेत सुधार ल्याउने दाबी गरिएको छ।
यद्यपि, पेटेन्टमा ब्याट्रीको ऊर्जा घनत्व, चार्जिङ गति, आयु, उत्पादन लागत वा व्यावसायिक उत्पादन सुरु हुने निश्चित समयबारे भने उल्लेख गरिएको छैन।
गत अप्रिलमा बीवाईडीका मुख्य वैज्ञानिक Lian Yubo ले कम्पनीको सोलिड-स्टेट ब्याट्री विकास कार्य महत्त्वपूर्ण चरणमा पुगेको बताएका थिए। उनले व्यावसायिक उत्पादनका लागि अझै पनि इन्जिनियरिङ जटिलता, लागत नियन्त्रण र उत्पादन गुणस्तर कायम राख्ने चुनौती बाँकी रहेको स्पष्ट पारेका थिए।
उनका अनुसार उद्योगहरूले केवल ब्याट्री सेलको क्षमता वृद्धि मात्र नभई सम्पूर्ण ब्याट्री प्रणालीको समग्र विकासमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ। बीवाईडीले यसअघि सन् २०२७ आसपास सोलिड-स्टेट ब्याट्रीको प्रारम्भिक उत्पादन सुरु गर्ने र १० हजार पटकसम्म चार्ज गर्न सकिने तेस्रो पुस्ताको सोडियम-आयन ब्याट्री विकास गर्ने योजना सार्वजनिक गरिसकेको छ।
चीनमा सोलिड-स्टेट ब्याट्रीको प्रतिस्पर्धा झन् तीव्र बन्दै गएको छ। CALB ले मार्चमा उच्च ऊर्जा घनत्व भएको सोलिड-स्टेट ब्याट्रीको नमुना सार्वजनिक गरेको थियो भने Chery ले सन् २०२७ सम्म गाडीमा यसको परीक्षण गर्ने लक्ष्य लिएको छ।
त्यस्तै CATL ले पनि सल्फाइडमा आधारित सोलिड-स्टेट ब्याट्रीको पेटेन्ट दर्ता गर्दै सन् २०२७ सम्म प्रारम्भिक उत्पादन सुरु गर्ने घोषणा गरेको छ। अर्को चिनियाँ कम्पनी GAC Group ले भने प्रमाणीकरण परीक्षणका लागि सीमित संख्यामा यस्ता ब्याट्री उत्पादन सुरु गरिसकेको छ।
बजार तथ्याङ्कअनुसार बीवाईडी अझै पनि मुख्य रूपमा एलएफपी ब्याट्री उत्पादनमै केन्द्रित देखिएको छ। सन् २०२६ को अप्रिलमा कम्पनीको ब्याट्री जडान परिमाण १०.४९ गिगावाट आवर पुगेको थियो, जसले १६.८ प्रतिशत बजार हिस्सा ओगटेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको बजार हिस्सा २२.५ प्रतिशत रहेको थियो भने जडान परिमाण १२.८४ गिगावाट आवर पुगेको थियो। त्यसबेला बीवाईडीले पूर्ण रूपमा एलएफपी प्रविधिका ब्याट्रीहरू मात्रै प्रयोग गरेको थियो।
