नेपाल लाइफको अनुपालन पहल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा हुने वित्तीय लगानी निवारण सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ। कम्पनीले वित्तीय पारदर्शिता, जोखिम नियन्त्रण र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

प्रशिक्षण कार्यक्रममा हरि कुमार नेपाल ले सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी कार्यमा हुने वित्तीय लगानी रोकथाम तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारसँग सम्बन्धित वित्तीय गतिविधि नियन्त्रणका विषयमा प्रस्तुति दिएका थिए।

उनले बीमा क्षेत्रमा लागू हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, नियामकीय निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया, शंकास्पद कारोबार पहिचान तथा विश्वव्यापी अभ्यासका विषयमा विस्तृत जानकारी दिएका थिए।

कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, संस्थापक शेयरधनी, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल ले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा नियामकीय अनुपालन कम्पनीको दीर्घकालीन स्थायित्वका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए। प्रभावकारी अनुपालन प्रणालीले कम्पनीलाई सुरक्षित, भरपर्दो र दिगो बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नु आवश्यक रहेको बताए। नियामकीय व्यवस्था केवल नीतिमा सीमित नभई दैनिक कार्यप्रणालीमै प्रभावकारी रूपमा लागू भइरहेको उनको भनाइ थियो।

कम्पनीका अनुसार यस प्रशिक्षणले वित्तीय अपराध न्यूनीकरण, संस्थागत पारदर्शिता अभिवृद्धि तथा जोखिम व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुर्‍याएको छ।

नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिँदै वित्तीय अनुशासन, पारदर्शिता, जोखिम नियन्त्रण तथा नियामकीय अनुपालनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।