रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ। केन्द्रको उद्घाटन नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले ले मङ्गलबार गरेका हुन्।
स्थापना गरिएको केन्द्रले किसानलाई मौसमसम्बन्धी पूर्वानुमान तथा आवश्यक जानकारी उपलब्ध गराउनेछ। केन्द्रमार्फत तापक्रम, वर्षा, हावाको गति लगायत मौसमसँग सम्बन्धित विभिन्न तथ्याङ्क सङ्कलन गरिनेछ।
केन्द्रबाट प्राप्त जानकारीका आधारमा किसानले बाली लगाउने समय, सिँचाइ गर्ने अवधि, मल तथा विषादी प्रयोग गर्ने उपयुक्त समयबारे जानकारी पाउनेछन्। यसले कृषि उत्पादनलाई मौसमअनुकूल बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा रामअयोध्या राय यादव ले कृषिमा आधारित रौतहट जिल्लाका किसानका लागि यस्ता मौसम मापन केन्द्र अत्यन्त आवश्यक रहेको बताए। उनले जिल्लाका सबै पालिकामा यस्ता केन्द्र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
स्थानीय तहले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्दै किसानलाई समयमै मौसम जानकारी उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ।
