काठमाडौं । मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको बर्दिबास नगरपालिका गढन्त घर भई हाल हेटौंडा–४ मा डेरा गरी बस्दै आएका २६ वर्षीय कुमार लामालाई प्रक्राउ गरेको हो ।

प्रहरीले उनको शरीर तथा डेराकोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ३२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा ३०० मिलिग्राम गाँजाको धुलो (पोलार) जस्तो देखिने पदार्थ बरामद गरेको हो ।

बरामद लागूऔषधसहित लामालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति प्राप्त गरेको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।