बीमा प्राधिकरणले खोज्दै नयाँ नेतृत्व

काठमाडौं । नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयअन्तर्गत गठन गरिएको नाम सिफारिस समितिले जेठ १३ गते सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो ।

बीमा क्षेत्रको नियामक निकायको नेतृत्व खाली भएपछि दक्ष, अनुभवी र व्यावसायिक व्यक्तित्व चयन गर्ने उद्देश्यसहित सरकारले प्रक्रिया अघि बढाएको जनाएको छ ।

समितिले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् आगामी जेठ १९ गतेसम्म इच्छुक उम्मेदवारलाई व्यक्तिगत विवरणसहित आवेदन दिन आग्रह गरेको छ । आवेदन काठमाडौंस्थित सिंहदरबारमा रहेको अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाअन्तर्गत समितिको सचिवालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

सूचनामा तोकिएको समयसीमाभित्र कार्यालय समयमै दरखास्त पेश गरिसक्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ । अध्यक्ष पदका लागि आवश्यक योग्यता तथा अनुभवका मापदण्ड बीमा ऐन, २०७९ अनुसार निर्धारण गरिएको छ ।

आवेदकले बीमा, मौद्रिक नीति, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमध्ये कुनै एकमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ ।

यसका साथै सम्बन्धित क्षेत्रमा न्यूनतम पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ । उमेरका आधारमा आवेदन दिने व्यक्ति कम्तीमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ ।

उम्मेदवार उच्च नैतिक चरित्रको हुनुपर्ने तथा अर्थ मन्त्रालयसँग सम्बन्धित सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को पालना गरेको हुनुपर्ने उल्लेख गरिएको छ । यसलाई सरकारले स्वच्छ छवि र सक्षम नेतृत्व चयन गर्ने संकेतका रूपमा हेरिएको छ ।

समितिले अयोग्य हुने आधारहरू पनि स्पष्ट पारेको छ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार, पुरातात्विक वस्तु तथा संरक्षित वन्यजन्तुसम्बन्धी कसूरमा सजाय पाएका व्यक्तिहरू आवेदनका लागि अयोग्य हुनेछन् ।

त्यस्तै, कानुनअनुसार कालोसूचीमा परेका तथा फुकुवा भएको तीन वर्ष पूरा नभएका व्यक्तिले पनि आवेदन दिन पाउने छैनन् । विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएका व्यक्ति, सार्वजनिक निकायसँग ठेक्कापट्टामा संलग्न रहेका तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई समेत आवेदन प्रक्रियाबाट बाहिर राखिएको छ ।

नेपालको बीमा बजारको विकास, विस्तार र प्रभावकारी नियमनका लागि प्राधिकरणको अध्यक्ष पदलाई अत्यन्त महत्वपूर्ण मानिन्छ । आगामी नेतृत्वले बीमा क्षेत्रको सुधार, पारदर्शिता अभिवृद्धि तथा नागरिकको बीमाप्रतिको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नाम सिफारिस समितिले योग्य तथा इच्छुक व्यक्तिलाई आवश्यक कागजातसहित निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको छ ।