इजरायल रोजगारीमा नयाँ अवसर

काठमाडौँ । इजरायलले सन् २०२६ भित्र नेपालबाट २३ सय जना सहायक श्रमिक (केयरगिभर) लैजाने भएको छ । काठमाडौँस्थित इजरायली दूतावास र वैदेशिक रोजगार विभागले छुट्टाछुट्टै सूचना जारी गर्दै नेपाल–इजरायल सरकारी श्रम सम्झौता (जीटुजी) अन्तर्गत तेस्रो चरणका लागि नेपाली श्रमिक छनोट प्रक्रिया सुरु भएको जानकारी दिएका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आज बुधबारदेखि असार ७ गतेसम्म आवेदन दिन सक्नेछन् । माग गरिएका कुल श्रमिकमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट गरिनेछ । छनोट भएका २३ सय जनामध्ये १ हजार जनालाई तत्कालै इजरायल पठाइने विभागले जनाएको छ ।

यस पटक आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ भने आवेदकको तौल कम्तीमा ४५ किलोग्राम हुनुपर्ने व्यवस्था गरिएको छ । शैक्षिक योग्यताअन्तर्गत १० कक्षा उत्तीर्ण गरी अनमी (एएनएम) वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्नेछ । वैकल्पिक रूपमा कक्षा १२ वा सोसरह उत्तीर्ण गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट केयरगिभिङसम्बन्धी तीन महिनाको तालिम लिएको व्यक्तिले पनि आवेदन दिन सक्नेछन् ।

त्यस्तै, आवेदकले इजरायलले तोकेको अङ्ग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । उक्त परीक्षा सञ्चालनको जिम्मेवारी ‘सिन इन्टरनेशनल क्वालिफिकेशन प्रालि’ लाई दिइएको छ ।

इजरायल जाने केयरगिभरको मासिक तलब ६ हजार ४ सय ४३ इजरायली मुद्रा तोकिएको छ, जुन नेपाली रुपैयाँमा करिब ३ लाख ४७ हजार बराबर पर्छ । यद्यपि खाना तथा आवासको खर्च भने श्रमिक आफैँले बेहोर्नुपर्नेछ । श्रमिकको करार अवधि पाँच वर्षको रहनेछ भने इजरायल जान लाग्ने सम्पूर्ण लागत खर्च पनि श्रमिक स्वयंले व्यहोर्नुपर्ने व्यवस्था छ ।

योग्यता पुगेका र भाषा परीक्षा उत्तीर्ण गरेका उम्मेदवारमध्ये अन्तिम छनोट भने ‘लक्की ड्र’ अर्थात् गोलाप्रथाबाट गरिनेछ । छनोट भएका श्रमिकले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने कार्यमा संलग्न हुनुपर्नेछ ।

इजरायली दूतावासका अनुसार यसअघि सन् २०२४ मा सञ्चालन गरिएको दोस्रो चरणको गोलाप्रथामा छनोट हुन नसकेका योग्य आवेदकहरूले पनि यस पटक पुनः प्रतिस्पर्धा गर्न पाउनेछन् । अघिल्लो चरणमा कुल २ हजार ११२ जना मात्र छनोट भएका थिए ।

यसैबीच, इजरायल रोजगारीको नाममा विभिन्न व्यक्ति, एजेन्ट तथा दलालहरूले ठगी गर्न सक्ने भन्दै इजरायली दूतावास र वैदेशिक रोजगार विभागले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । सम्पूर्ण भर्ना प्रक्रिया पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र कानुनी माध्यमबाट मात्रै सञ्चालन हुने भएकाले कुनै पनि भ्रम वा प्रलोभनमा नपर्न सरकारी निकायले आग्रह गरेका छन् ।