एम९ एसयूभीमा हुवावे प्रविधिको चमक

काठमाडौँ । चीनको अग्रणी अटोमोबाइल समूह हिमा अन्तर्गतको ‘आइतो’ ले आफ्नो बहुप्रतीक्षित फ्ल्यागसिप फुल-साइज एसयूभी एम९ आधिकारिक रूपमा बजारमा सार्वजनिक गरेको छ । अत्याधुनिक प्रविधि, शक्तिशाली पावरट्रेन र प्रिमियम डिजाइनसहित आएको यो मोडलले अटोमोबाइल बजारमा नयाँ आकर्षण थपेको कम्पनीले जनाएको छ ।

नयाँ एम९ लाइनअपमा म्याक्स प्लस, अल्ट्रा र अल्टिमेट एक्स्टेन्डेड एडिसन गरी विभिन्न भेरियन्ट उपलब्ध छन् । चीनमा यसको मूल्य ४ लाख ७९ हजार ८०० युआनदेखि ६ लाख ५९ हजार ८०० युआनसम्म तोकिएको छ, जुन नेपाली रुपैयाँमा करिब १ करोड ८ लाखदेखि १ करोड ४९ लाखभन्दा बढी पर्छ ।

यो एसयूभी रेन्ज-एक्सटेन्डेड र पूर्ण इलेक्ट्रिक दुवै पावरट्रेनमा उपलब्ध छ र ग्राहकले ४, ५ वा ६ सिट कन्फिगरेसन छनोट गर्न सक्नेछन् । मानक संस्करण ५,२८५ मिमि लामो छ भने अल्टिमेट एक्स्टेन्डेड भेरियन्ट ५,४०२ मिमि लम्बाइ र ३,२३६ मिमि ह्विलबेससहित अझ ठूलो संरचनामा तयार गरिएको छ ।

डिजाइनतर्फ ‘कुनपेङ विङ’ शैली, प्रोजेक्सन हेडलाइट, क्रोम बी-पिलर ट्रिम तथा डेजर्ट गोल्ड ब्राउन, सायराम ब्लु र काङ्घाई सिल्भर ब्लु जस्ता आकर्षक रङ्गहरू यसको विशेषता रहेका छन् ।

पावरट्रेनको हिसाबले एम९ निकै शक्तिशाली छ । रेन्ज-एक्सटेन्डेड मोडलमा १.५ लिटर टर्बो इन्जिन र दुई मोटरले ४९७ किलोवाट अर्थात् ६६७ हर्सपावर उत्पादन गर्छ भने यसले एक पटकको फुल चार्ज र इन्धनमा १ हजार ४०५ किलोमिटरसम्मको यात्रा गर्न सक्छ ।

पूर्ण इलेक्ट्रिक संस्करण ८०० भोल्ट प्लेटफर्ममा आधारित छ र १२० किलोवाट आवर ब्याट्रीसहित ७५० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यो मोडलले ० देखि १०० किमी प्रतिघण्टा गति ४.५ सेकेन्डमा पुर्‍याउन सक्छ ।

सबैभन्दा शक्तिशाली अल्टिमेट एक्स्टेन्डेड भेरियन्टमा २.० लिटर टर्बो इन्जिन र तीन मोटर प्रणाली प्रयोग गरिएको छ, जसले ८९० हर्सपावर उत्पादन गर्छ । यो गाडी केवल ३.९९ सेकेन्डमा १०० किमी प्रतिघण्टाको गति समात्न सक्षम छ भने यसको अधिकतम गति २५१ किमी प्रतिघण्टा रहेको छ ।

प्रविधिगत रूपमा यसमा हुवावे हार्मोनी ककपिट ५.२, एआई मोडेल इन्ग्रेशन, ३२ इन्च प्रोजेक्सन स्क्रिन र २,९२० वाटको साउन्ड सिस्टम जस्ता प्रिमियम फिचर समावेश छन् । साथै, हुवावे छियानकुन एडिएस ५.० प्रणाली, ६ लिडार, ५ राडार, १२ अल्ट्रासोनिक सेन्सर र १२ क्यामेरासहित अटोमेटिक ड्राइभिङ क्षमतासमेत प्रदान गरिएको छ ।

सुरक्षाका दृष्टिले ९१ प्रतिशत उच्च-शक्तिको स्टिल र आल्मुनियम संरचना तथा हट-फर्म्ड स्टिल प्रयोग गरिएको छ, जसले गाडीलाई थप मजबुत बनाएको कम्पनीको दाबी छ ।

यद्यपि एम९ चीनको आइतो श्रेणीको लोकप्रिय फ्ल्यागसिप मोडल भए पनि पछिल्ला महिनाहरूमा यसको बिक्रीमा गिरावट आएको देखिएको छ । गत अप्रिलमा मात्र ३ हजार ३८२ युनिट बिक्री भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ६७.५ प्रतिशतले कम हो ।