शाओमीले ल्यायो नयाँ रेडमी प्याड

काठमाडौं । ग्लोबल प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ ट्याबलेट ‘रेडमी प्याड २ ९.७ इन्च’ सार्वजनिक गरेको छ । शक्तिशाली अक्टा–कोर प्रोसेसर, २के डिस्प्ले र स्मार्ट इकोसिस्टम कनेक्टिभिटीसहित आएको यो डिभाइसलाई कम्पनीले प्रिमियम ट्याबलेट अनुभव दिने उत्पादनका रूपमा प्रस्तुत गरेको छ ।

ग्राफाइट ग्रे र सिल्भर रङमा उपलब्ध यो ट्याबलेट युनिबडी मेटल डिजाइनमा तयार गरिएको छ, जसले मजबुत संरचना र आकर्षक लुक दुवै प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसमा ९.७ इन्चको २के क्रिस्टल–क्लियर डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट समावेश गरिएको छ, जसले भिडियो, गेमिङ तथा सामान्य प्रयोगमा अत्यन्त स्मुथ र स्पष्ट दृश्य अनुभव दिनेछ । अक्टा–कोर प्रोसेसरले छिटो र प्रभावकारी प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

रेडमी प्याड २ मा ७,६०० एमएएच क्षमताको ठूलो ब्याट्री राखिएको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने सुविधा दिन्छ । साथै १८ वाट फास्ट चार्जिङ सपोर्ट पनि उपलब्ध छ ।

क्यामेरा सेटअपतर्फ ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ, जसले स्पष्ट र गुणस्तरीय फोटो तथा भिडियो कल अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै स्टेरियो स्पिकर र ३.५ एमएम हेडफोन ज्याकसहित मल्टिमिडिया अनुभवलाई अझ मजबुत बनाइएको छ ।

यो ट्याबलेट शाओमीको हाइपरओएस ३ मा आधारित छ, जसले इकोसिस्टम भित्रका अन्य डिभाइससँग सहज कनेक्टिभिटी प्रदान गर्छ । केवल ४०६ ग्राम तौल भएको यो डिभाइस हल्का र सजिलै बोक्न मिल्ने श्रेणीमा पर्ने कम्पनीले जनाएको छ ।

सुरक्षाका लागि यसमा एआई फेस अनलक सुविधा समेत उपलब्ध छ, जसले छिटो र सुरक्षित अनलक अनुभव दिन्छ । नेपालमा रेडमी प्याड २ ४+१२८ जीबी भेरियन्टमा उपलब्ध छ, जसको मूल्य २५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।