‘ऊर्जा सुरक्षामा नयाँ युग’, सिएटिएलले खोल्यो विश्वकै विशाल ब्याट्री प्रयोगशाला

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौँ। विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक चिनियाँ कम्पनी CATL ले ऊर्जा भण्डारण प्रणालीको सुरक्षा, विश्वसनीयता र कार्यक्षमता परीक्षणका लागि विश्वकै सबैभन्दा ठूलो अत्याधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ।

कम्पनीले चीनको सियामेनमा ‘सियामेन इनर्जी स्टोरेज भ्यालिडेसन रिसर्च इन्स्टिच्युट’ (एसभीएल) को औपचारिक उद्घाटन गर्दै ऊर्जा भण्डारण उद्योगका लागि विश्वकै सबैभन्दा ठूलो ‘वान–स्टप’ परीक्षण तथा प्रमाणीकरण केन्द्र सुरु गरेको जनाएको हो।

झन्डै १० हेक्टर क्षेत्रफलमा फैलिएको यो अनुसन्धान तथा परीक्षण केन्द्र करिब ३ अर्ब युआन अर्थात् नेपाली रुपैयाँमा झन्डै ६७ अर्ब ८० करोडको लगानीमा निर्माण गरिएको हो। कम्पनीका अनुसार यो केन्द्र विश्वभरका ऊर्जा भण्डारण उद्योगसँग सम्बन्धित सरोकारवालाहरूले उपयोग गर्न सक्ने खुला र साझा पूर्वाधारका रूपमा विकास गरिएको छ।

सिएटिएलले विश्वभर नवीकरणीय ऊर्जातर्फको संक्रमण तीव्र गतिमा भइरहेको भए पनि ऊर्जा भण्डारण क्षेत्रमा कार्यक्षमता र सुरक्षा सम्बन्धी चुनौतीहरू अझै गम्भीर रहेको जनाएको छ। कम्पनीका अनुसार हाल विश्वभर सञ्चालनमा रहेका ठूला ऊर्जा भण्डारण केन्द्रहरूमध्ये करिब पाँचमध्ये एक केन्द्रले अपेक्षित रूपमा काम गर्न सकेका छैनन्।

त्यस्तै करिब ४६ दशमलव ५ प्रतिशत प्रणालीहरू केन्द्रीय प्रसारण लाइन अर्थात् ग्रिडमा जडान हुन दुई महिनाभन्दा बढी ढिलो हुने समस्या पनि देखिएको छ। यी चुनौती समाधान गर्न नयाँ प्रयोगशालाले साना पाटपुर्जादेखि सम्पूर्ण ऊर्जा भण्डारण स्टेसनको तहसम्म कडा परीक्षण र प्रमाणीकरण गर्नेछ।

कम्पनीका अनुसार यसबाट ऊर्जा भण्डारण प्रणालीहरू वास्तविक प्रयोगमा पठाउनु अघि नै तिनको सुरक्षा, ग्रिडलाई सहयोग गर्ने क्षमता तथा दीर्घकालीन विश्वसनीयता सुनिश्चित गर्न मद्दत पुग्नेछ।

सिएटिएलका मुख्य वैज्ञानिक डाक्टर वु काइ ले ऊर्जा भण्डारण क्षेत्र अहिले गिगावाट स्तरको विशाल युगमा प्रवेश गरिसकेको भन्दै वैज्ञानिक शुद्धता र विश्वसनीय परीक्षण पहिलेभन्दा धेरै महत्त्वपूर्ण बनेको बताएका छन्। उनका अनुसार नयाँ अनुसन्धान केन्द्रलाई वास्तविक संसारमा प्रयोग हुने ऊर्जा प्रणालीहरूको विश्वसनीय प्रमाणीकरण गर्न सक्षम बनाउने गरी डिजाइन गरिएको छ।

यस अनुसन्धान केन्द्रमा पाँचवटा मुख्य प्रयोगशाला निर्माण गरिएको छ। तीमध्ये ‘ग्रिड अन्तरसम्बन्ध प्रयोगशाला’ विश्वकै पहिलो स्टेसन-स्तरको परीक्षण केन्द्र हो, जहाँ ३५ किलोभोल्ट र १०० एमभीए क्षमताको ग्रिड सिमुलेटर जडान गरिएको छ। यसले एकैसाथ १० भन्दा बढी ठूला ऊर्जा भण्डारण कन्टेनरहरूको परीक्षण गर्न सक्छ।

‘हाइ-भोल्टेज सुरक्षा प्रयोगशाला’ ले १ देखि ५०० किलोभोल्टसम्मको भोल्टेज परीक्षण गर्दै चरम अवस्थाको आगलागी र विष्फोटसम्बन्धी अनुसन्धान गर्नेछ। त्यस्तै ‘थर्मल सुरक्षा तथा प्रज्वलन प्रयोगशाला’ मा २० मेगावाट क्षमताको क्यालोरीमिटर र १ लाख घनमिटर आन्तरिक परीक्षण क्षेत्र उपलब्ध रहेको छ, जहाँ एकैपटक नौवटा ठूला कन्टेनरमा विष्फोटन परीक्षण गर्न सकिन्छ।

‘वातावरणीय विश्वसनीयता प्रयोगशाला’ ले माइनस ५० डिग्रीदेखि १०० डिग्री सेल्सियससम्मको तापक्रम र ७ हजार २०० किलोमिटरसम्मको कृत्रिम उचाइमा ब्याट्रीको क्षमता परीक्षण गर्नेछ। त्यस्तै ‘इलेक्ट्रोम्याग्नेटिक कम्प्याटिबिलिटी (इएमसी) प्रयोगशाला’ वास्तविक उच्च–शक्ति चार्ज तथा डिस्चार्ज अवस्थामै ४० फिटको पूर्ण कन्टेनर परीक्षण गर्न सक्ने विश्वकै एकमात्र केन्द्र भएको कम्पनीले जनाएको छ।

यस केन्द्रका प्रमुख डाक्टर चेन सियाओबो का अनुसार विश्वव्यापी मान्यता प्राप्त परीक्षण तथा प्रमाणीकरण सेवा प्रदान गर्न संस्थानले टियुभी सुड, टियुभी राइनल्यान्ड, सिजिसि र सीएसएजस्ता अन्तर्राष्ट्रिय प्रमाणीकरण निकायसँग सहकार्य गरेको छ।

उनले स्वतन्त्र र भरपर्दो तथ्याङ्क उपलब्ध गराएर ऊर्जा भण्डारण क्षेत्रलाई विश्वसनीय र लगानीयोग्य उद्योगका रूपमा स्थापित गर्न नियामक निकाय, बीमा कम्पनी र वित्तीय संस्थाहरूलाई सहयोग पुग्ने बताए।

सिएटिएल हाल पावर ब्याट्री र ऊर्जा भण्डारण दुवै क्षेत्रमा विश्वकै अग्रणी कम्पनीका रूपमा स्थापित छ। कम्पनीले सन् २०२६ को अप्रिलमा मात्रै पावर ब्याट्री बजारमा ४७ प्रतिशत हिस्सा ओगट्दै विश्व बजारमा नेतृत्व कायम गरेको थियो।

ऊर्जा भण्डारण ब्याट्रीतर्फ भने सन् २०२५ मा कम्पनीको बिक्री १२१ गिगावाट आवर पुगेको थियो। यसले विश्व बजारको ३० दशमलव ४ प्रतिशत हिस्सा ओगट्दै लगातार पाँचौँ वर्ष पनि विश्वकै पहिलो स्थान कायम राख्न सफल भएको कम्पनीले जनाएको छ।

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार