‘निर्माणमा राहत खोज्दै उद्योग’, लागत वृद्धिले बढायो दबाब

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौँ। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा कच्चा पदार्थको मूल्य तीव्र रूपमा बढेपछि त्यसको प्रत्यक्ष असर नेपाली निर्माण उद्योगमा पर्न थालेको छ। लागत वृद्धि र ढुवानी खर्च आकासिएसँगै निर्माण क्षेत्र गम्भीर दबाबमा परेको भन्दै Confederation of Nepalese Industries ले सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।

परिसंघका अनुसार मध्यपूर्वमा युद्ध सुरु हुनुअघि अर्थात् फेब्रुअरी १५ मा प्रतिलिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य हाल बढेर २२५ रुपैयाँ पुगेको छ। त्यस्तै निर्माण क्षेत्रमा अत्यावश्यक मानिने बिटुमिनको मूल्य प्रतिकेजी ७५ रुपैयाँबाट बढेर १५५ रुपैयाँ पुगेको जनाएको छ।

डिजेल, मट्टितेल, बिटुमिन तथा अन्य निर्माण सामग्रीको मूल्यवृद्धिसँगै ढुवानी लागत समेत उच्च भएपछि देशभर सञ्चालन भइरहेका विकास निर्माणका कामहरू प्रभावित हुने अवस्थामा पुगेका छन्।

Federation of Contractors’ Associations of Nepal ले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार मूल्यवृद्धिको छोटो अवधिमै निर्माण व्यवसायीहरूले १० अर्ब रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी व्यहोरेका छन्। परिसंघले उक्त तथ्याङ्कप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निर्माण क्षेत्र संकटतर्फ धकेलिएको जनाएको छ।

परिसंघका अनुसार राष्ट्रिय गौरवका आयोजना तथा स्थानीयस्तरका पूर्वाधार निर्माण प्रभावित हुँदा सिमेन्ट, छड, इँटा, ढुवानी तथा निर्माणसँग सम्बन्धित अन्य उद्योगहरूमा समेत शिथिलता आउने जोखिम बढेको छ।

निर्माण व्यवसायीमाथि थपिएको आर्थिक तथा मानसिक दबाब कम गर्न, विकास निर्माणलाई निरन्तरता दिन तथा समग्र अर्थतन्त्रलाई चलायमान राख्न सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने माग परिसंघले गरेको छ।

साथै, सार्वजनिक निर्माण परियोजनामा लागत वृद्धि समायोजन गर्न मूल्य समायोजनको प्रभावकारी व्यवस्था लागू गर्दै दीर्घकालीन समाधानतर्फ अघि बढ्न सरकारलाई आग्रह गरिएको छ।

परिसंघले निर्माण क्षेत्र अर्थतन्त्रको प्रमुख आधार भएकाले यस क्षेत्रलाई संकटबाट जोगाउन तत्काल नीतिगत हस्तक्षेप आवश्यक रहेको उल्लेख गरेको छ।

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार